रोजगारीका लागि विदेशिनेको संख्या अहिलेसम्मकै उच्च, ८ महिनामा पाँच लाखले लिए श्रम स्वीकृति

काठमाडौं । रोजगारीका लागि विदेशिनेको संख्या अहिलेसम्मकै उच्च रहेको छ । वैदेशिक रोजगार विभागका अनुसार चालू आर्थिक वर्षको पहिलो आठ महिनामा झन्डै सवा पाँच लाख जनाले श्रम स्वीकृति लिएका छन् ।

वैदेशिक रोजगार विभागका अनुसार फागुन महिनामा वैदेशिक रोजगारीको सिलसिलामा ६१ हजार ८४५ जनाले श्रम स्वीकृति लिएका छन् । फागुनमा श्रम स्वीकृति लिनेको सङ्ख्या अघिल्लो महिना (माघ)को तुलनामा केही कम हो ।

विभागका महानिर्देशक उमाकान्त आचार्यले मलेसिया र कतारमा नेपाली श्रमिकको सेवासुविधा र माग बढेका कारण वैदेशिक रोजगारीमा जाने युवाको सङ्ख्या वृद्धि भएको बताए ।

पछिल्लो समय साउदी अरब नेपालीको चौथो गन्तव्य देश बनेको छ । मलेसियामा आप्रवासी श्रमिकको सेवासुविधा बढेसँगै साउदी अरब कम रोजाइमा पर्ने गरेको र गएका पनि फर्किने क्रम बढेको महानिर्देशक आचार्यले बताए । फागुनमा ५६ हजार ७१९ जना पुरुष र पाँच हजार १२६ जना महिला कामको खोजीमा विदेशिएका छन् ।

विभागका अनुसार माघमा ६४ हजार २८४ जना युवा विदेशिएका थिए । यो नयाँ श्रम स्वीकृति तथा पुनः श्रम स्वीकृति लिनेसमेतको सङ्ख्या हो । फागुनमा म्यानपावर कम्पनीमार्फत २९ हजार २८८ जना युवा विदेशिएका छन् । व्यक्तिगत रूपमा जाने नयाँ श्रमिकको सङ्ख्या पाँच हजार ५३६ जना छ । जीटुजीमार्फत दुई हजार १७० जना युवा विदेश गएका छन् । व्यक्तिगत रूपमा पुनः श्रम स्वीकृति लिनेको सङ्ख्या भने २४ हजार ८५१ जना रहेको छ ।

विभागका अनुसार चालू आर्थिक वर्षको आठ महिना (साउन–फागुन) मा पाँच लाख २४ हजार ९३ जनाले श्रम स्वीकृति लिएका छन् ।

यसमध्ये सबैभन्दा धेरै मलेसिया र कतार, साउदी, यूएई, कुवेत, बहराइन, लगायतका देशमा जानेको हिस्सा ८० प्रतिशत रहेको छ । बाँकी हिस्सा अन्य देशमा जाने सङ्ख्या रहेको छ ।

विभागका अनुसार गत फागुन महिनामा मलेसियाका लागि १९ हजार ८२४ जनाले श्रम स्वीकृति लिएका छन् ।