भोजमा दलितले भान्सा छोएको भन्दै भतेर घोप्ट्याउने जनप्रतिनिधि प्रहरीको फन्दामा

फाइल फोटो

पोखरा । भोजमा दलितले भान्सा छोएको भन्दै भतेर घोप्ट्याउने कास्कीका जनप्रतिनिधिलाई प्रहरीले पक्राउ गरेको छ । कास्कीको माछापुच्छ्रे गाउँपालिका–५ रिभानका वडा सदस्य रामजी लामिछाने आइतबार पक्राउ परेका हुन् ।

रिभानका चार जनाविरुद्ध पोखराका नारायण परियारले जातीय विभेदको आरोपमा जाहेरी दर्ता गराएपछि लामिछाने फरार थिए । व्रतबन्धमा दलित र गैरदलितलाई छुट्टाछुट्टै भान्साको व्यवस्था गरेर जातीय विभेद गरेको आरोपमा स्थानीय सन्तोष परियार र सुजन लामिछाने चैत १२ मा पक्राउ परेका थिए ।

फरार रहेका जनप्रतिनिधि रामजी लामिछाने र स्थानीय सरिता लामिछाने आइतबार प्रहरीको सम्पर्कमा आएपछि पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय पोखराले जनाएको छ । उनीहरुलाई अदालतबाट म्याद थप गरी थुनामा राखिएको छ । आफन्तको ब्रतबन्धमा भाग लिन पोखरा–२९ भण्डारढिकका उनी फागुन २५ मा पुर्ख्यौली गाउँ रिभान पुगेका थिए ।

ब्रतबन्ध चलिरहेको समयमा नारायण पनि ब्रतबन्ध गरेका दुबै छोरालाई टीका लगाउनुका साथै दान दक्षिणा दिएर भतेर तिर लागे । भतेर खान अगाडि बढेका उनलाई भान्सामा खटिएकी सीता लामिछानेले तिमी के थरी हो ? भनेर प्रश्न गरे । नारायणले आफू परियार भएको मात्रै के भनेका थिए उनले जवाफ फर्काईहाले, ‘तिमीहरुका लागि यहाँ होईन, अर्को छुट्टै भान्छा छ’–भनेर जातीय विभेद गरेको आरोप लगोको छ ।

सामाजिक चेतना भएका नारायणलाई सहभोज गर्नबाट रोकेपछि उनलाई जातिय विभेद भएको महशुष भयो र आफूमाथि अन्याय भएको महशुष भएपछि त्यसको प्रतिवाद गरेको पीडित नारायण दमाई परियारले बताएका छन् ।

सहभोज गर्नबाट रोकेपछि उनले ‘मैले यहाँ खाए के हुन्छ र ? भनेर जिज्ञासा राखेको उनको भनाई छ । त्यसपछि तिनै भान्से सीताले ‘यो त बाहुन भान्सा हो । यहाँ ब्राह्मण क्षेत्रीले मात्र खाने हो । यो भान्सामा हाम्रा बुबाआमाहरु हुनुहुन्छ । तिमीहरुले छोएको खानु हुँदैन’ भनेर जातिय विभेद गरेको नारायणको आरोप छ ।