बैतडी र सिन्धुलीमा भएका दुर्घटनामा १० जनाको मृत्यु

काठमाडौं । बैतडी र सिन्धुलीमा भएका दुर्घटनामा १० जनाको मृत्यु भएको छ । बैतडीमा ६ जना र सिन्धुलीमा ४ जनाको मृत्यु भएको हो ।

बैतडीको झुलाघाटबाट बझाङको बाग्थलातर्फ जाँदै गरेको से १ ज ७६४ नम्बरको जीप अनियन्त्रित भई पाटन नगरपालिका–८, झौलेक मोडमा गएराति दुर्घटना भएको हो ।

दुर्घटनामा ६ जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । मृतयु हुनेहरुमा बझाङको केदारस्युँ गाउँपालिका–५, बाँझका ६० वर्षीय मने बोहरा, सोही ठाउँका ४० वर्षीय नरे बोहरा, ३५ वर्षीय गोरख बोहरा, ४५ वर्षीय मानबहादुर धामी, ४५ वर्षीय बिर्ख धामी र ४५ वर्षीय वीरे धामी रहेका छन् ।

प्रहरी निरीक्षक योगेश खत्रीका अनुसार उनीहरू सबै एकै गाउँका हुन् । जीपकम सवार पाँचजनाले सडकमै हामफालेर ज्यान जोगाएका छन् ।

यस्तै सिन्धुलीको कमलामाई नगरपालिका– ३ मा भारतीय नम्बर प्लेटको कार दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ। तीनजनाको घटनास्थलमै र एक जनाको अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ।

बीपी राजमार्ग हुँदै काठमाडौं आउँदै गरेको बी आर डीडी ०६८७ नम्बरको कार राति साढे १२ बजे कमलामाईस्थित गढी गेट नजिक दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ । कारमा सवार पाँचै जनाको परिचय खुल्न सकेको छैन।