५८ जिल्लाका ६ सय १२ स्थानमा डढेलो, डढेलोबाट एक वर्षमा १०९ जनाको मृत्यु

देशभरका ५८ जिल्ला डढेलोको चपेटामा परेका छन् । डढेलो नियन्त्रण सञ्जालका अनुसार मध्य र पूर्वी नेपालमा केन्द्रित रहेको डढेलो पछिल्ला दिनमा पश्चिम नेपालसम्म फैलिएको छ ।

अमेरिकी वैज्ञानिक संस्था नासाका अनुसार पछिल्लो २४ घन्टामा नेपालका ६ सय १२ स्थानमा डढेलो लागेको छ । यसअघि २८ चैतमा ६ सय ८१ स्थानमा डढेलो लागेको थियो ।

राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका डढेलोविज्ञ सुन्दरप्रसाद शर्माका अनुसार तराईदेखि मध्य पहाडी वनजंगलसम्ममा डढेलो लागेको छ ।

आइतबार कञ्चनपुर, डोटी, कैलाली, बर्दिया, सुर्खेत, कालिकोट, बाँके, अर्घाखाँची, पर्सा, बारा, मकवानपुर, ओखलढुंगा, खोटाङ, उदयपुर, धनकुटा, तेह्रथुमलगायत ५८ जिल्लाका वनजंगलमा डढेलो लागेको छ ।

वन तथा भूसंरक्षण विभागका अनुसार नेपालमा बर्सेनि दुई लाख हेक्टर वन क्षेत्रमा डढेलो लाग्ने गरेको छ । ०७७÷७८ को गर्मीयाममा मात्र नेपालमा ६ हजार सात सय ९९ स्थानमा डढेलो लागेको थियो ।

तर, ०७८/७९ को गर्मीयाममा भने घटेको थियो । डढेलोविज्ञ शर्माको भनाइमा धेरैजसो डढेलो मानवीय कारणले लाग्ने गर्छ । ‘चुरोट खाएर टुटो त्यतिकै फ्याँकिदिँदा डढेलो लागेर ठूला घटना हुने गरेका छन् । नयाँ पालुवा र घाँसको लोभमा पनि वनजंगलमा डढेलो लगाउने गरेको पाइन्छ,’ उनले भने, । वैशाख–जेठमा ठूलो हावाहुरी चल्ने भएकाले पनि डढेलोको सिजन अझै बाँकी नै रहेको छ ।

मौसमविद्हरू हिउँदमा पर्याप्त पानी नपर्दा डढेलो बढेको बताउँछन् । सुक्खायाममा आगलागी र डढेलाका घटना बढी हुने गरेकोमा यस वर्ष लामो समय सुक्खा हुँदा घटना बढ्दै गएको आकलन छ  । नेपालमा डढेलोबारे सकारी निकायबाट अध्ययन नभए पनि समयमै पानी नपर्नु, पानी परे पनि पर्याप्त नहुनुलगायत कारण पनि डढेलोका घटना बढ्नमा सघाउ पुगिरहेको बताइन्छ ।

यसैबीच नेपालमा एक वर्षमा आगलागीमा परी एक सय नौजनाको ज्यान गएको छ । राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार ०७९ मा तीन हजार १० ठाउँमा आगलागी हुँदा तीन सय ९४ जना घाइते भएका छन् । आगलागीमा तीन हजार सात सय २३ घरपरिवार प्रभावित भएका छन् ।