बुटबल । दुर्लभ पन्छी सारसको प्रमुख बासस्थान रहेको लुम्बिनीमा सारस संरक्षणको काम सुरु गरिएको छ । सारस संरक्षणको कामका लागि लुम्बिनीमा अभिमुखीकरण र कार्यशाला आयोजना गरिएको छ ।
संरक्षित पन्छी सारसको ग्रेटर लुम्बिनी क्षेत्रमा तथ्याङ्क यकिन गर्ने, यसको बासस्थानको अवस्था र भोग्दैआएका समस्या तथा चुनौतीको पहिचान गर्ने, प्रजनन् दरको अवस्था पत्ता लगाउने तथा मानव र यो पन्छीको सम्बन्धको बारेमा वैज्ञानिक जानकारी संकलन गर्ने परियोजनाको उद्देश्यर रहेको नेपाल जोलोजिकल सोसाइटीका महासचिव डा हरि शर्माले बताए ।
स्थानीयलाई त्यस बारेमा सचेतना जगाई बासस्थानको संरक्षण गरी सारसलाई पर्यटन प्रवर्धनसँग जोड्न सकिने उनको भनाइ छ । नेपाल जोलोजिकल सोसाइटीको आयोजना र प्राणीशास्त्र केन्द्रीय विभाग, विश्व वन्यजन्तु कोष, इन्टरनेशनल फाउन्डेशन र नेपाल जोलोजिकल सोसाइटी लुम्बिनी प्रदेशको सहयोगमा आयोजित परियोजनाले सारस संरक्षण गरी पर्यापर्यटनमा टेवा पुग्ने विश्वास आयोजकले लिएको छ ।
कार्यक्रममा लुम्बिनी प्रदेश पर्यटनबोर्डका कार्यकारी निर्देशक रामु जैशीले दुर्लभ पन्छी सारसलाई पर्यापर्यटनसँग जोड्दै वन्यजन्तु र संस्कृति समेतको पर्यटन मोडल बन्न सक्ने बताए ।
अर्का विज्ञ डा हेम कटुवालले नेपालमा सारसको अवस्था र चुनौतीबारे अवधारणापत्र प्रस्तुत गरेका थिए । विश्व वन्यजन्तु कोषका राजेन्द्र सुवालले नेपालमा सारसको अवस्था, विकास र सांस्कृतिक महत्वका साथै दीगो पर्यापर्यटन बारेमा जानकारी दिए ।
विश्वमा पाइने सारसका १५ प्रजातिमध्ये नेपालमा चार प्रजाति पाइने विज्ञको भनाइ छ । नेपालमा सबैभन्दा बढी सारस पाइने लुम्बिनी क्षेत्र हो । उड्ने चराहरूमध्ये सबैभन्दा अग्लो सारस अधिकतम ४० देखि ५० फिटको उचाइमा उड्न सक्छ । अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघले सन् २००० मा दुर्लभ पन्छीमा सूचीकृत गरेको सारसको तौल वयस्क अवस्थामा १० किलो र उचाइ पाँच फिटसम्म हुन्छ ।









