नारायणघाट-बुटवल सडक खण्डमा शास्ती पाउनबाट कहिले मुक्ति मिल्ला ?

कावासोती । नारायणगढ-बुटवल सडक विस्तारको काम सरकारले आश गरेको आयोजना हो । निर्माणको काम चलिरहेको पनि छ । कामको गति पनि बढेको छ । तर निर्माण आयोजनामा अझै आशा गरिएअनुसार प्रगति हुनसकेको छैन ।

आयोजनाको प्रगति गत महिनासम्म दुईदेखि तीन प्रतिशत रहेको थियो । ठेक्का थपिएको अवधि साउनसम्ममा सकिनुपर्नेमा अहिलेसम्मको दुवै ठेक्कामा गरी प्रगति झन्डै ३१ प्रतिशत रहेको छ ।

अहिलेसम्म पश्चिम खण्डमा भौतिक प्रगति २९ दशममलव ०९ प्रतिशत र वित्तीय प्रगति २० दशमलव ४१ प्रतिशत रहेको आयोजना कार्यालयले जनाएको छ । झन्डै साढे पाँच किलोमिटर सडकमा एक तहको कालोपत्र सकिएको नारायणगढ–बुटवल सडक पश्चिमखण्ड आयोजनाका इञ्जीनियर शिवु खत्रीले जानकारी दिए ।

अहिलेसम्म जम्मा दुई सय मिटर बाटोमा मात्रै दुई तहको कालोपत्र भएको खत्रीले बताए । एक तहमा पहिले छ सेन्टिमिटरको कालोपत्र गरेपछि दोहोर्याएर चार सेन्टिमिटर गरेपछि कालोपत्र पूरा हुन्छ ।

केही महिनायता निर्माणको प्रगति बढेको र पछिल्लो महिनामा पश्चिम खण्डको प्रगति एक दशमलव ९६ प्रतिशत रहेको इञ्जीनियर खत्रीले बताए ।

तीन महिनायता निर्माणको गति बढेको र कालोपत्र भएपछि प्रगति अझै बढ्ने आयोजनाले जनाएको छ । काम गरिरहेको भए पनि अझै पनि पर्याप्त देखिँदैन । पछिल्लोपटक थपिएको अवधि आगामी साउनमा सकिँदैछ र सो अवधिसम्म निर्माण सक्न कठिन हुने देखिएको आयोजनाले जनाएको छ । निर्माणस्थलमा अझै विद्युत्को पोल सार्न बाँकी छ ।

एसियाली विकास बैंक एडिबीको ऋण सहयोगमा सो सडक विस्तार भइरहेको छ । विसं २०७५ मा सो सडक निर्माण सुरु भएको थियो । एक सय १४ किमी लम्बाइको सडक पूर्वी खण्ड र पश्चिम खण्ड गरी दुई आयोजनामार्फत काम अघि बढाइएको छ ।