कावासोती । नवलपुरको देवचुली नगरपालिकामा घडियाल काव्य उत्सव २०८० सुरु भएको छ । नारायणी नदी किनारमा रहेको पिप्रहर सामुदायिक होमस्टेमा सुरु उत्सव शनिबारसम्म चल्नेछ ।
देवचुलीमा रहेको ह्याप्पी एफएमको आयोजनामा गरिएको यो उत्सव दोस्रो शृङ्खला हो । २०७५ सालमा घडियाल काव्य उत्सवको पहिलो संस्करण आयोजना गरिएको थियो ।

सन् १९७० देखि नै दुर्लभ मानिएको अति सङ्कटापन्न जीव घडियाल गोहीको साहित्यमार्फत संरक्षणका लागि घडियाल काव्य उत्सव २०८० आयोजना गरिएको हो ।
उत्सवको नेपाली कांग्रेसका नेता एवम् नवलपुरबाट निर्वाचित संघीय सांसद डा शशांक कोइरालाले उद्घाटन गरेका हुन् । उद्घाटन कार्यक्रममा बोल्दै सांसद कोइरालाले घडियालको संरक्षण गर्नु नागरिक र सरकार दुवैको कर्तव्य भएको बताए ।

घडियालको संरक्षणका लागि सबैभन्दा पहिला पानीको संरक्षण गर्न जरुरी रहेको पनि कोइरालाले बताए । पानी सफा राख्न र पानीका मुहान जोगाउन सबैले ध्यान दिनु पर्ने कोइरालाको भनाइ थियो । यो उत्सवको मुख्य संरक्षकका रूपमा देवचुली नगरपालिका रहेको छ ।










