जिल्ला प्रहरी कार्यालय भन्छ, नवलपुर सबैभन्दा शान्त जिल्ला हो

गैडाकोट । जिल्ला प्रहरी कार्यालय नवलपुरले जिल्लामा अपराधका घटनामा निक्कै कमि आएको दाबी गरेको छ । जिल्ला प्रहरी कार्यालय तथा जिल्ला प्रशासन कार्यालय नवलपुरले गैडाकोटमा गरेको संयुक्त नागरिक सुनुवाई कार्यक्रममा यस्तो जानकारी दिइएको हो ।

कार्यक्रममा जिल्ला प्रहरी प्रमुख प्रहरी उपरिक्षक (एसपी) भुवनेश्वर तिवारीले अपराधका हिसावले नवलपुर जिल्ला सबैभन्दा शान्त जिल्ला भएको बताए । त्रिवर्षीय अपराधका घटनाको विवरण सार्वजनिक गर्दै एसपी तिवारीले तीन वर्षअघिको तुलनामा सबै हिसावले नवलपुर सबैभन्दा शान्त जिल्लाका रुपमा रहेको बताए ।

तथ्या‌कमा हुेर्दा बैंकिङ कसुर र लागू औषधबाहेक अन्य सबै आपराधिक घटनामा उल्लेख्य कमि आएको देखिन्छ ।

बैंकिङ कसुरका मुद्धाभने यसअघि एउटा पनि नरहेकोमा यो आर्थिक वर्षमा १७ वटा रहेकोमा २ वटा मात्र फर्स्यौट भएका छन् । त्यस्तै लागू औषधमा पनि सुधार हुन सकेको छैन । एसपी तिवारीले लागू औषध प्रयोगकर्ता र ओसार पसारका हिसावले नवलपुर ट्रान्जिट प्वाइन्ट हुँदै गएको र यो चिन्ताको विषय भएको बताए ।

सार्वजनिक सुनुवाइमा प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्सालले प्रशासनले समस्याहरु समाधानका लागि जनप्रतिनिधिहरुसँग छलफल गर्ने बताए । अव निकट भविष्यमा बाढी, पहिरो, डुवान जस्ता प्राकृतिक विपत्ति आउन सक्ने भएकाले त्यसका लागि आफूहरु तयारी अवस्थामा रहेको भन्दै स्थानीय सरकारलाई पनि तयारी गर्न प्रमुख जिल्ला अधिकारी लम्सालले आग्रह गरे ।

गैडाकोट नगरपालिकाका मेयर मदन भक्त अधिकारीले सडक बत्ति र सिसि क्यामेर थप्न प्रहरीबाट पटक पटक आग्रह गरेपनि संघीय सकारले बजेट फिर्ता लगेकोले सहयोग गर्न नसकेको बताए ।

कार्यक्रमका सहभागिहरुले दिउँसो गर्ने प्रहरी चेकिङले यात्रुलाई सास्ती दिएको, चोरीको घटना बढेकोले सिसि टिभि थप्नु पर्ने, गलत प्रकृयाबाट उठ्ने राजश्व संकलन बढयो भनेर मख्ख पर्नुभन्दा त्यसलाई कम गर्नु पर्ने सुझाव दिएका थिए ।

 

त्यस्तै यातायातको भाडा बढी भएको, विदयार्थीले कार्डमा छुट नपाएको, बाल यौन दुराचारका घटना बारे जनचेतना विस्तारमा कमी भएको, औषधी पसल दर्ता भए नभएका र म्याद गुज्रेका औषधीको बिक्रिवितरणमा अनुगमन गर्नु पर्ने तथा ठेला गाडामा रक्सि बेचिएको, दर्ता नभई मदिरा पसल सञ्चालन गरेको, मकै बेच्न बसेकाले पनि मदिरा बेचेको जस्ता गुनासा आएको भन्दै प्रहरी र स्थानीय प्रशासनलाई सक्रिय हुन आग्रह गरेका थिए ।