‘मोखा’ चक्रवातको असरले नेपालमा आँधीसहितको वर्षा (भिडियो)

काठमाडौैं । बङ्गालको खाडीमा विकसित भएको ‘मोखा’ चक्रवातको असर नेपालको मौसममा परेको छ । गत बुधबार सिर्जना भएको चक्रवातको असरले आइतबारदेखि नेपालका कतिपय स्थानमा हावाहुरीसँगै वर्षा सुरु भएको छ । यो क्रम आगामी तीन दिनसम्म कायम रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार मोखा अति शक्तिशाली चक्रवातका रूपमा परिणत हुँदै उत्तर र उत्तरपूर्व दिशातर्फ अघि बढिरहेको छ । जसको सोझो असर बङ्गलादेश र म्यान्मारको तटीय क्षेत्रमा अत्यधिक परेको छ । भारतको पूर्वी क्षेत्र नेपालमा भन्दा बढी असर परेको छ । बङ्गलादेशमा चक्रवातका कारण झन्डै पाँच लाख मानिसलाई सुरक्षित स्थानमा सारिएको छ ।

चक्रवातका कारण वायुको बहाव सात माइल प्रतिघण्टाका दरले उत्तरपूर्व सरिरहेको छ । १७० माइल प्रतिघण्टाको उच्च वेगमा यो जमिनतर्फ सोझिएको थियो । जसको प्रभावले १२ फिटमाथिसम्मको आँधी र हावाहुरीको सिर्जना भएको छ । मौसमविद् प्रतिभा मानन्धरका अनुसार उच्च हावाहुरी र जलवाष्पसहित घुमिरहेको ‘मोखा’ चक्रवात  आइतबार जमिनमा झर्ने प्रक्रियामा अग्रसर रहेकाले यस क्रममा यसको जलवाष्पको शक्ति नेपालसम्म आइपुगेको हो ।

नेपालमा पश्चिमी र स्थानीय वायुको चाप पहिल्यै रहेकाले पनि उत्तरपूर्वबाट आइरहेको चक्रवातको वायु कमजोर बनेको हो ।तीनदेखि चार दिनसम्म हल्का बदली र वर्षा भएपछि नेपालमा चक्रवातको असर साम्य हुनेछ । बुधबारदेखि मौसममा सुधार हुने महाशाखाले जनाएको छ ।

चक्रवातले नेपालमा मनसुन भित्र्याउन थप वातावरण बनाउने सम्भावना देखिएको छ । आगामी जुन ११ मा नेपालमा मनसुन भित्रिने समयअगावै हुने यस्ता मौमसी प्रणालीले वायुमण्डलमा परिवर्तन ल्याउन सहायक भूमिका निर्वाह गर्छ । बङ्गालको खाडीको जलवाष्पयुक्त वायुले नेपालमा मनसुनी प्रणाली सबल बनाउने गर्छ ।

गएको १२ घण्टामा धेरै ठाउँमा वर्षासँगै हावाहुरी चलेको छ । हुरीले पुर्याएको क्षतिको विवरण आएको छैन । तर, कतिपय ठाउँमा जस्ताका टहरा भत्किएका छन् । मधेस प्रदेश, बाग्मती र गण्डकी प्रदेशका केही ठाउँमा पनि हावाहुरीसहित वर्षा भएको छ । कर्णालीका एक/दुई ठाउँमा पनि पानी परेको छ । आज पनि धेरै ठाउँमा पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।