कावासोती । तीन वर्षमा सक्ने भनिएको नारायणगढ बुटवल सडक विस्तारको काम ४ बर्ष भैसक्दापनि मुस्कीलले ३२ प्रतिशत मात्र सकिएको छ । बाँकी काम सक्न थपिएको एक वर्षमा ठेकेदार कम्पनी चाइना स्टेट इन्जिनियरिङ कर्पोरेशनले अहिले कामभन्दा पुनः म्याद थप्न सरकारसँग लबिङ गरिरहेको छ ।
सुरुमा कोरोनाको कारण देखाएर निर्माण कम्पनीले निकै सुस्त गतिमा काम गरेको थियो । कोरोनापछि पनि कामको गति बढ्न सकेको छैन् । यहि गतिमा काम हुँदा अबको १२ वर्षमा पनि कम्पनीले काम सक्नेमा स्थानीयको आशंका छ ।
‘सरकारसँग म्याद थप्नुको विकल्प छैन, म्याद नथपेर नयाँ ठेकेदार कम्पनीलाई कामको जिम्मा दिने हो भने १० वर्षमा पनि काम सकिदैन, त्यसैले हामीलाई डेढ वर्ष थप समय दियो भने हामी थपिएको समयमै काम सक्छौं, झाले समाचार सेवासँग भने ।
चिनियाँ ठेकेदार कम्पनीका कन्सल्टयान्ट राकेश झाले निर्धारित समयमा काम सक्न सम्भव नभएको भन्दै थप डेढ वर्ष म्याद थपका लागि आग्रह गर्ने बताए । ‘सरकारसँग म्याद थप्नुको विकल्प छैन, म्याद नथपेर नयाँ ठेकेदार कम्पनीलाई कामको जिम्मा दिने हो भने १० वर्षमा पनि काम सकिदैन, त्यसैले हामीलाई डेढ वर्ष थप समय दियो भने हामी थपिएको समयमै काम सक्छौं, झाले समाचार सेवासँग भने ।
उनका अनुसार अहिले नवलपुर खण्डमा पर्ने ६५ किलोमिटरमध्ये ६ किलोमिटर काम सकिएको छ । १२ सय कामदार सडकमा खटिएर काम गरिरहेका छन् । पटक–पटक कोरोना कहर, नदीजन्य पदार्थको अभाव, स्थानीय तहले गिट्टी बालुवा निकासी गर्न नदिएको, रूख कटान र बिजुलीको पोल समयमा नसार्दा काम ढिलो भएको चिनियाँ ठेकेदार कम्पनीले जनाएको छ ।
तर गिट्टी बालुवा निकासी गर्न स्थानीय तहले नदिएको भन्ने कुरा स्थानीय तहले अस्वीकार गरेका छन् । विनय त्रिवेणी गाउँपालिकाका अध्यक्ष घनश्याम गिरीले आफूहरुका कारण काममा अवरोध नपुगेको बताए । चिनियाँ कम्पनीले स्थानीय नदीहरुबाट गिट्टी, बालुवा जस्ता नदीजन्य पदार्ध निकासी गर्न नदिएकोले सडकको स्तरोन्नती गर्न समस्या भएको बताए पनि त्यसमा सत्यता नभएको गिरीको भनाइ थियो ।

नारायणगढ बुटवल सडकमार्ग गैडाकोटदेखl दाउन्ने डाँडा र दाउन्ने डाँडा देखी बुटवल सम्म गरि १ सय १४ किलोमिटर दुरीको दुई खण्ड गरेर काम हुदैँछ । चाइनिज ठेकेदार कम्पनी सामु नियामक निकाय मौन र निरिह रहँदै आएकोमा स्थानिय आजित छन् । सडकमा सम्झौता अनुसार काम नहुँदा सडकमा खाल्डो, धुवाधुलो र डाईभर्सनले स्थानीयले सास्ती खेप्नुपरेको छ ।

चिनियाँ ठेकेदार कम्पनी चाइना स्टेट इन्जिनियरिङ कर्पोरेसनले करिब १७ अर्बमा ठेक्का लिएको यस राजमार्गको शिलन्यास २०७५ चैत ८ मा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले गरेका थिए । बस्ती क्षेत्रमा ६ लेन, जङ्गल क्षेत्रमा ४ लेन र दाउन्ने क्षेत्रमा ३ लेनको हुनेगरी सडक बिस्तार गरिने भएपनि सुस्त गतिमा काम हुँदा स्थानीय र सवारीयात्रीलाई प्रत्यक्ष असर परेको छ ।









