सुगम जिल्लाको दुर्गम खबर, नेताले चुनावी प्रतिवद्धता बिर्से, टुकीमुनी जनता

बोमलाल गिरी/बुलिङटार । नवलपुर जिल्ला सुगम जिल्लामा गनिन्छ । त्यसैले पहाडी क्षेत्रबाट मानिसहरु बसाई सरेर नवलपुर आउने गरेका छन् । बसाई सरेर तराई झर्नुको मतलव पहाडको भन्दा सेवा सुविधा होस् । बाटोघाटो, बिजुली, पानी, सञ्चार, स्वास्थ्य, शिक्षा जस्ता आधारभूत आवश्यकता पूर्ति होस् ।

तर सुन्दा अचम्म लाग्न सक्छ, यही सुगम जिल्ला भित्र पनि थुप्रै दुर्गम ठाउँहरु छन्, जहाँ बिजुली बत्ति पुगेको छैन । नवलपुरको बुलिङटार गाउँपालिकाका जनता अझै पनि टुकी मुनि रात काटाउन बाध्य छन् ।

यहाँ राष्ट्रिय प्रशारण लाइन जोडिएको छैन । केही व्यक्तिले सोलार जडान गरेका छन् भने वडा नम्बर १, ३ लगायत स्थानमा लघुवित्तको विजुली (बिहान र बेलुका मात्र) बलेको छ । बाँकी माथिल्लो भागमा टुकी बाल्नु परेको बुलिङटारका स्थानीय शिक्षक लोकप्रसाद रामदामले बताए ।

हेर्नुहोस भिडिओ


बुलिङटार वडा नम्बर २ का अध्यक्ष कमल राज बकावल मगरले पनि विजुली नपुगेको सत्य भएको बताए । उनका अनुसार हुनेखानेहरुले सोलार जडान गरेका छन् । अन्य व्यक्तिहरु बिजुलीको पर्खाइमा रहेको बताए ।

वडाअध्यक्ष मगरका अनुसार बिजुलीको समस्या माथिल्लो भेगमा भन्दा पनि करिडरको बाटोले छोएको तल्लो भेगमा बढी छ । माथिल्ले भेगमा सुन्तला, अदुवा, टिमुर, आलु आदीबाट आम्दानीको राम्रो श्रोत भए पनि तल्लो भेगमा आम्दानीको श्रोत पनि नहुँदा स्थानीय बढी समस्यामा रहेको उनको भनाइ छ ।

त्यस्तै वडा नम्बर १ का वडाध्यक्ष दिलबहदुर सूर्यबंशीका अनुसार वडा नम्बर १ र २ मा राष्ट्रिय प्रशारण लाइन शून्यको अवस्थामा छ । धेरै जसो घरपरिवारले सौर्य बत्ति जडान गरेपनि केही भने अझै टुकी मुनि बस्नु पर्ने बाध्यता रहेको सूर्यबंशीले सुनाए । सौर्यबत्तिका लागि पालिकाले पनि सहयोग गरेको उनको भनाइ छ ।

यो क्षेत्रबाट प्रतिनिधि सभा सदस्यमा नेपाली कांग्रेसका नेता डा शशांक कोइराला लगातार चार पटक सम्म निर्वाचित भए । प्रभावशाली नेताको छवि बनाएका नेता कोइरालाको हरेक पार्टीका केन्द्रीय स्तरका नेतासँगको सम्बन्ध र उठबस पनि राम्रै छ ।

कोइरालाले हरेक चुनावमा राष्ट्रिय प्रशारण लाइनको मुद्धा उठाउने प्रतिवद्धता व्यक्त गर्दै चुनाव जित्ने गरेको स्थानीय शिक्षक लोकप्रसाद रामदामको भनाइ छ । तर चुनाव जितेपछि चुनावका बेला उठाएका बाचा पनि बिर्सने प्रबृति नेता कोइरालामा पनि देखियो ।

वडा नम्बर २ का अध्यक्ष कमलराज बकावल मगरका अनुसार कोइराकाको निर्वाचन क्षेत्र नम्बर १ नवलपुरमा तिब्र विकास भएको पनि होइन, गर्दै नगरेका पनि होइन । तर पहुँचवाला नेताबाट जुन खालको अपेक्षा मतदाताले गरेका थिए त्यो भने हुन सकेन ।

वडाअध्यक्ष मगरका अनुसार चुनाव जितेपछि गाउँ नफर्कने, गाउँका जनताको सम्पर्कमा बस्न नसक्ने, निश्चित घेरामा मात्र सिमित हुने, सिमित मान्छेले भनेकोमा मात्र बजेट हाल्ने, मतदाताले मत दिन्नन्की भनेर डराउने कोइरालाका कमजोर पक्ष हुन् ।