मासिएका माझ कुलो खोल्ने अभियानमा कावासोती वडा नं. ३, डुवानको समस्या समाधान हुने विश्वास

कावासोती । कावासोती नगरपालिका वडा नम्बर ३ ले मासिएको पुरानो सरकारी (माझ) कुलो खोल्ने अभियानलाई तिब्रता दिएको छ । लामो समयदेखि पुरिएको अवस्थामा रहेको वडा भित्र रहेका म्याप सिट नम्बर २क, ४ख र ४घ अन्तरगत रहेका सरकारी कुलो खोल्ने काम गरिरहेको ३ नम्बरका वडाध्यक्ष डोरमान गिरीले जानकारी दिए ।

वडाको धुँवाकोटे चोकबाट मित्र चोक, जयन्ती चोक, एकता चोक, बेलचोक हुँदै आरएमसीसम्म मासिएको कुलो खोल्ने काम सुरु गरिएको हो । कुलो पुरिएका कारण वर्षातको समयमा निकास नहुँदा वडाका विभिन्न ठाउँमा डुवान हुने गरेकाले विगत दुई हप्तादेखि कुलो खोल्ने अभियानलाई निरन्तरता दिइएको अध्यक्ष गिरीले बताए ।

अहिलेसम्म ९ सय मिटर कुलो खोल्ने काम सकिएको र बाँकी ४ सय मिटर खोल्न बाँकी रहेको वडा कार्यालयले जनाएको छ । अध्यक्ष गिरीका अनुसार पुरानो कावासोतीको उत्तरतर्फ गुम्बाबाट कुरुङ्गे खोलासम्मको ११ सय मिटरको नाली पनि खोलिसकिएको छ ।

कावासोती ३ मा रहेको यो कुलो ६ मिटरदेखि कतै ४ मिटर कतै २ मिटर चौडाईको रहेको छ । धुँवाकोटे चोक हुँदै एकता चोक नजिकबाट दुई खण्डमा एउटा खण्ड आरएमसी क्षेत्र र एउटा राजमार्ग स्थित कालिगण्डकी अस्पतालसम्म पुगेको छ । जसमध्ये माथिल्लो खण्डलाई आरएमसीसम्म पुर्याइएको छ ।

कुलो खोल्ने क्रममा कतिपयका बारीमा समेत डोजर लगाउनु परेको छ । त्यसको विरोधस्वरुप केही स्थानीय नगरपालिकाको कार्यालयमा डेलिगेशन गए पनि वडाले आफ्नो कामलाई निरन्तरता दिएको छ । कुलो खोलेपछि वडाको बजार क्षेत्रमा डुबानको समस्या समाधान हुने विश्वास गरिएको छ ।