कावासोती । नवलपरासीको अरूणा डिष्टिलरीबाट निस्केका पानी माछा पोखरीमा पस्दा पोखरीमा रहेका ५ लाख बराबरको माछा मरेको छ । पश्चिम नवलपरासीको रामग्राम नगरपालिका वडा न. १७ स्थित पटखौलीमा रहेको डिष्टिलरीबाट निस्केका पानी पोखरीमा पस्दा माछा मरेका हुन् ।
डिष्टिलरी उद्योगको दुर्गन्धित पानी माछा पालन गरेको पोखरीमा पस्दा आईतवारदेखि माछा मर्न थालेका माछापालक किसान विज्ञान सिँहले बताए । उनका अनुसार रामग्राम नगरपालिका वडा नं १७ स्थित पटखौलीमा ३ कठ्ठा जग्गमा माछा पालनको लागि पोखरी निर्माण गरिएको थियो ।
पोखरीमा एक किलो बराबरका माछा तयार भईसकेका थिए । उक्त पोखरीमा अरूणा डिष्टिलरीको दुर्गन्धित पानीको उचित ब्यवस्थापन नभइ पोखरीमा पस्दा माछा मरेका हुन ।
यस्तै प्रत्येक वर्ष अरुणा डिष्टिलरीका पानीका कारण पशु पन्छी लगायत खेतमा रहेका अन्न बाली समेतमा क्षति हुने गरेको छ । गत वर्ष अरूणा डिष्टिलरीका दुर्गन्धित पानीका कारण रामग्राम वडा न. १७ का स्थनिय नमिन्द्र यादवको २ वटा भैँसी मरेका थिए । भैँसी मरेपछि डिष्टिलरीकाको विरोध गर्दा अरूणा डिष्टिलरीले भैसीमालिकलाई २७ हजार रुपैयाँमात्र दिएर थमथमाएका थिए ।
अरूणा डिष्टिलरीका सञ्चालक लुम्बिनी प्रदेश सभा सदस्य बैजनाथ जैसवाल हुन् । उनले दादागिरी शैलीमा किसानलाई दुःख दिने गरेको स्थानीयले गुनासो गरेका छन् । विज्ञान सिँहले भने आफूहरुलाई केही पैसा दिएर कतै हल्लाखल्ला नगर्न र कानुनी प्रकृया नजान धम्की दिएको बताए ।
प्रदेश सभा सदस्य एवम् उद्योगपति जैसवालले भने आफ्नो उद्योगका कारण माछा नमरेको दावी गरे । जैसवालले भने – केहीबर्ष अगाडि स्थानीयको व्यापक विरोध पछि उद्योगमा हामीले अत्याधुनिक फिल्टर प्लान्ट जडान गरेका छौं । माछा मरेको कुरा सत्य हो तर, उद्योगको प्रदुषित पानीको कारण होइन् ।
जैसवालले आफूमाथि राजनीतिक प्रतिशोध साँध्न खोजिएको बताए । जैसवालले उद्योगबाट कुनै प्रदुषण नफालेको दावी गरे पनि स्थानीयले भन दुर्गन्ध व्यापक रहेको बताए ।
पश्चिम नवलपरासीका प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्यालले यस विषयमा आफूलाई जानकारी नभएको बताए । उनले अधिकांश उद्योगले प्रदुषण फैलाएको भन्दै गुनासो आएको बताउँदै आफूहरुले सबै उद्योगी व्यवसायीहरुलाई बोलाएर छलफल गरी अनुगमन गर्ने तयारी गरिरहेको बताए ।









