गैँडाकोटलाई मध्यवर्ती क्षेत्रबाट हटाउन माग, संघर्ष समिति गठन गरेर दबाव बढाईंदै

गैँडाकोट । चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रबाट आफूहरुलाई हटाउन गैँडाकोटका ६ वटा वडाबासीहरुले माग गरेका छन् ।

मध्यवर्ती क्षेत्रका बासिन्दाले आफैले लगाएका डालाबुटा काट्न र यहाँको विकासमा बाधक र झन्झटिलो भएको भन्दै मध्यवर्ती क्षेत्रबाट हटाउन माग गरेका हुन् । उनीहरुको साथमा गैँडाकोटका अन्य नगरबासीले पनि साथ दिएका छन् ।

मध्यवर्ती क्षेत्रबाट हटाउन माग गर्दै शनिबार गैँडाकोटबासीले विरोध स्वरुप हस्ताक्षर संकलन तथा पत्रकार सम्मेलन गरेका छन् । गैँडाकोट नगरपालिकाको वडा नम्बर १०, ११ र १२ का स्थानीयले मध्यवर्ती खारेज संघर्ष समिति नै गठन गरी दबावका कार्यक्रम शुरु गरेका छन् । त्यसको पहलका लागि नगरपालिकाले नगर उप प्रमुखको संयोजकत्वमा ५ सदस्यीय समिति समेत गठन गरेको छ ।

स्थानीय सङ्घर्ष समितिका संयोजक एवं नगर तहको पहल समितिका सदस्य तथा गैँडाकोट–११ का वडाध्यक्ष गोविन्दप्रसाद सुवेदीले गैँडाकोटका १०, ११ र १२ निकुञ्जसँग सिमाना नजोडिएको भन्दै आफूहरुलाई मध्यवर्तीबाट हटाउनु पर्ने बताए ।

यहाँका बासिन्दा निकुञ्जसँग आश्रित हुनुनपर्ने तथा निकुञ्जका जनावरसमेत नआउने कारण आफूहरुलाई मध्यवर्तीबाट हटाउनुपर्ने उनको भनाइ छ । पत्रकार सम्मेलनमा मध्यवती क्षेत्र त्याग गर्नुपर्ने १० वटा बुँदामा कारण पेश गर्दै उनले यहाँको विकासमा बाधक बनेको बताए ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन अनुसार नेपाल सरकारले, नेपाल राजपत्रमा सुचना प्रकाशित गरी मध्यवर्ती क्षेत्रको परित्याग गर्न सक्ने उल्लेख गरिएको हुँदा सोही जगमा टेकेर यस क्षेत्रलाई मध्यवर्ती क्षेत्रबाट अलग गराउन लागिएको नगर उप प्रमुख एवं नगर स्तरीय पहल समितिका संयोजक शान्ति कोइरालाले बताइन् ।

यहाँका बासिन्दाले वन पैदावार सामुदायिक बनबाट प्राप्त गरिरहेको र आफूहरु निकुञ्ज तथा मध्यवर्ती क्षेत्रसँगै कुनै पनि प्रकारले आश्रित नरहेको उनको भनाइ थियो ।

गैँडाकोट नगरपालिका नगर प्रमुख मदनभक्त अधिकारीले राष्ट्रिय निकुञ्ज ऐन २०२९ मा यस क्षेत्र मध्यवर्तीमा नपरेको तर विसं २०५३ सालमा सीमा हेरफेर गर्दा यस क्षेत्रलाई मध्यवर्तीमा राखिएकोले खारेज गर्नुपर्ने भन्दै नगर कार्यपालिकाको बैठकबाटै निर्णय गरेर अघि बढिएको जानकारी दिए ।

यस क्षेत्रलाई मध्यवर्तीबाट मात्रै नभएर नगरको उत्तरी क्षेत्रमा रहेको पहाडलाई पनि चुरे क्षेत्रबाट हटाउन निर्णय गरेर नगरपालिका अघि बढेको उनको भनाइ छ । गैँडाकोट नगरपालिका भित्रको धनजनको सुरक्षा गर्न नगरपालिका पूर्णरुपमा सक्षम रहेको बताउँदै तत्काल मध्यवर्ती र चुरेबाट हटाउन नगर प्रमुख अधिकारीले माग गरे ।

गैँडाकोट नगरपालिकाको वडा नं १०, ११, १२, १३, १६ र १७ लाई चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रबाट हटाउन नगर कार्यपालिकाको बैठकले पाँच सदस्यीय समिति गठन गरेको हो ।

समितिको संयोजकमा नगर उपप्रमुख शान्ती कोइराला, सदस्यहरुमा नगर प्रवक्ता एवं वडा नं ३ का वडाध्यक्ष शिवकान्त तिवारी, १० का वडाध्यक्ष देवीदत्त कँडेल, ११ का वडाध्यक्ष गोविन्द प्रसाद सुवेदी, १७ का वडाध्यक्ष गोपि कँडेल रहेका छन् ।