गर्मीले सीमा नाघ्यो, पानी पर्ने सम्भावना छैन, विद्यालय धमाधम बन्द

कावासोती । तापक्रमले सीमा नाघेपछि नेपालका धेरै भू–भागमा ‘हिटवेभ’ सुरु भएको छ। कुनै पनि स्थानमा तापक्रमको थे्रेसहोल्ड तोकिएको हुन्छ। त्योभन्दा बढी तापक्रम निरन्तर तीन दिनसम्म रहनुलाई प्राविधिक भाषामा हिटवेभ भनिन्छ।

चितवनदेखि पूर्वी तराई, गण्डकीको पोखरा आसपासका साथै दाङमा पनि गर्मीले सीमा नाघेको छ । समग्रमा मध्य तथा पूर्वी तराईका धेरैजसो जिल्लाहरूमा हिटवेभ देखिएको हो। गर्मी बढेका अधिकांश स्थानमा विद्यालयमा पठन पाठन बन्द गरिएका छन्।

नवलपुरका स्थानीय तहले पनि गर्मी अत्याधिक बढेपछि धमाधम विद्यालय बन्द गराएका छन् । कावासोती नगरपालिका, मध्यविन्दु नगरपालिका, देवचुली नगरपालिका लगायतले बिहीबार सूचना जारी गरेर विद्यालयको पठनपाठन रोकिएको जनाएका हुन् ।

चितवनका विभिन्न पालिकाले पनि विद्यालयको पठनपाठन बन्द गरेका छन् । चितवनका ४ वटा नगरपालिकाले सूचना जारी गरी केही दिनका लागि विद्यालय बन्द गरिएको जनाएका छन् ।

अत्यधिक गर्मी हुन थालेपछि चितवनका रत्ननगर, खैरहनी, राप्ती र माडी नगरपालिकाले बिहीबार सूचना जारी गरेर विद्यालयको पठनपाठन रोकिएको जनाएका हुन् ।

मौसमविद् सुदर्शन हुमागाईंका अनुसार पछिल्लो केही दिनयता बिहाननै देखि चर्को घाम लाग्दा देशभर गर्मी बढेको छ । चर्को घाम लागेपनि तत्काल पानी पर्ने सम्भावना नरहेकाले गर्मी अझै बढ्न सकने मौसम पू्वानुमान महाशाखाले जनाएको छ । तातो हावा चल्दा स्वास्थ्यमा प्रतिकुल असर पर्न सक्ने भन्दै सतर्कता अपनाउन मौसमवीदले सुझाव दिएका छन् ।

गर्मी, धेरै गर्मी र अत्यन्त गर्मीमा वर्गीकरण गरिन्छ। ३६ डिग्री भएपछि धेरै गर्मी र ३७.७ कटेपछि अत्यन्त गर्मी मानिन्छ। गत दुई दिनमा कैलालीमा ३९.८ र ३९.९ डिग्री तापक्रम पुगेको छ। बुधबारदेखि जनकपुरको तापक्रम ३९.१ डिग्री छ।

काठमाडौंमा पनि निकै गर्मी महसुस भएको छ। बुधबार काठमाडौंको तापक्रम ३०.७ डिग्री पुगेको थियो। त्यहाँ ३१.३ डिग्री नाघेपछि धेरै गर्मी मानिन्छ।

पछिल्लो २४ घण्टामा जकपुर र सिमरामा अत्याधिक गर्मी देखिएको छ । सिमरामा ४०.६ र जनकपुरमा ४०, भैरहवामा ३९.६, नेपालगञ्जमा ३८.६, काठमाडौंमा ३२.३ तापक्रम मापन गरिएको छ ।