काठमाडौं । यो वर्षको मनसुनजन्य घटनाबाट १२ लाख ५० हजार मानिस प्रभावित हुने प्रक्षेपण गरिएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले विभिन्न वैज्ञानिक विष्लेषणका आधारमा गरिएको अध्ययनमा कूल दुई लाख ८६ हजार ९ सय ९८ घर धुरीका १२ लाख ५० हजार मानिस प्रभावित हुने आँकलन गरेको हो ।
सबैभन्दा बढी मधेस प्रदेशमा चार लाख र कोसी प्रदेशमा तीन लाख मानिस प्रभावित हुने अनुमान गरिएको छ । प्राधिकरणका अनुसार लुम्बिनी प्रदेशमा दुई लाख, बागमती प्रदेशमा एक लाख, सुदूरपश्चिम प्रदेशमा एक लाख ४७ हजार, गण्डकी प्रदेशमा ६९ हजार र कर्णाली प्रदेशमा ३५ हजार मानिस मनसुनजन्य घटनाबाट प्रभावित हुने आँकलन गरिएको हो ।
गत वर्ष २० लाखि मानिस प्रभावित हुने आँकलन गरिएको थियो । मनसुन भित्रिन केही दिन मात्रै बाँकी रहेकाले पूर्वतयारी तथा प्रतिकार्यका काम तीव्ररुपमा अघि बढिरहेको प्राधिकरणले जनाएको छ ।
उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले विपद् व्यवस्थापनको काम चुस्तरुपमा अघि बढाउन यसअघि नै निर्देशन दिइसकेका छन् । सोही आधारमा आवश्यक पूर्वतयारी समन्वययात्मक काम तथा मनसुन पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना निर्माण भएको पनि प्राधिकरणले जनाएको छ ।
जल तथा मौसम विज्ञान विभागका अनुसार यस वर्षको मनसुनमा देशैभरि कम पानी पर्ने प्रक्षेपण गरिसकेको छ । सरदरभन्दा कम पानी पर्ने भएकाले अधिकतम तापक्रम विगतको भन्दा बढी हुने अनुमान पनि गरिएको छ । सामान्यतया जेठ अन्तिम साताबाट मनसुन नेपाल प्रवेश गर्दछ ।
जल तथा मौसम विज्ञान विभागका महानिर्देशक कमलराम जोशीले यस वर्षको मनसुन जेठ ३१ वा ३२ गते पूर्वबाट मनसुन प्रवेश गर्ने सम्भावना रहेको बताएका छन् । नेपालमा मनुसन सरदर एक सय दिन क्रियाशील हुने गरेको छ । औषतभन्दा कम पर्ने भएपनि विपद्जन्य घटना भने निम्तिनसक्ने हुँदा तयारीका कामलाई तीव्रताका साथ अघि बढाउनुपर्ने बताए ।
नेपालमा बाढी, पहिरो र भारी वर्षा प्रमुख मनसुनजन्य विपद् हुन् । शीतलहर खडेरीले पनि प्रभाव पार्ने गरेकोमा यसपटक भने प्रतिमनसुनका समयमा तातो हावाको लहरले जनजीवन प्रभावित बनाएको छ । यो क्रम अहिले पनि तराईका जिल्लामा कायमै छ ।









