पछिल्लो छ दशकमा मात्रै मुलुकको उद्योग क्षेत्रमा रु २६ खर्ब बढी लगानी भएको पाइएको छ । यसबाट उद्योग क्षेत्रको विकासका सरकारले विशेष गरी ध्यान केन्द्रित गरेको र लगानीकर्ताले पनि लगानीको मात्रामा क्रमशः वृद्धि गर्दै गएको देखिन्छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय मातहतको उद्योग विभागले सार्वजनिक गरेको पछिल्लो तथ्यांकअनुसार आर्थिक वर्ष २०७८/०७९ सम्म उद्योग (विभिन्न क्षेत्रका उद्योगमा) मात्रै रु २६ खर्ब २७ अर्ब बढीको लगानी प्रस्ताव आएको छ ।
नेपालमा विशेष गरी आर्थिक वर्ष २०१७/०१८ सालदेखि २०७८/०७९ सम्म आठ हजार ७६४ उद्योगका लागि उक्त परिमाणको लगानी प्रस्ताव आएको हो । तथ्यांकअनुसार हालसम्म दर्ता भएका उद्योगमध्ये सबैभन्दा धेरै लगानीको प्रस्ताव साना उद्योगमा रहेको छ । विवरणअनुसार साना उद्योग पाँच हजार ४४२, मझौला उद्योग दुई हजार १७ र ठूला उद्योग एक हजार ३०५ दर्ता भएका छन् । तथ्यांकअनुसार हालसम्म दर्ता भएका उद्योगले छ लाख ५७ हजार ५०७ लाई रोजगारी दिने उल्लेख गरिएको छ ।
एक वर्षमै थपियो एक खर्ब ८७ अर्ब
कोरोना महामारीपछि विस्तारै स्वदेशी तथा विदेशी लगानीका उद्योगमा प्रतिबद्धता आउने क्रममा वृद्धि हुन थालेको विभागका सम्बद्ध अधिकारीको भनाइ छ । विभागका सूचना अधिकारी पूर्णिमा उपाध्यायले कोरोना पछि उद्योगको संख्यासँगै लगानीमा समेत वृद्धि हुन थालेको जानकारी दिए । उनका अनुसार गत आव २०७७/०७८ को तुलनामा २०७८/०७९ मा स्वदेशी लगानीका उद्योगमा मात्रै रु दुई खर्ब बराबरको लगानी प्रतिबद्धता आएको छ ।
आव २०७७/०७८ मा २०३ उद्योगका लागि रु एक खर्ब ५६ अर्ब बढीको लगानी प्रस्ताव आएकोमा गत आव २०७८/०७९ मा रु तीन खर्ब ४३ अर्ब ५५ करोड बढीको लगानी प्रस्ताव आएको छ । एक वर्षको अवधिमा रु एक खर्ब ८७ अर्ब बढीको लगानी प्रस्ताव आएको हो ।
गत आव २०७८/०७९ मा ३०९ वटा उद्योग दर्ता भएकामा ९१ वटा ठूला उद्योग, १०८ वटा मझौला र ११० वटा साना उद्योगमा दर्ता भएका छन् । गत आव २०७७÷०७८ मा २०३ वटा उद्योग दर्ता भएका थिए ।
बढ्यो विदेशी लगानी
विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार विदेशी लगानी प्रतिबद्धतामा समेत वृद्धि भएको छ । एक वर्षको अवधिमा विदेशी लगानीका उद्योगमा रु २२ अर्ब आठ करोड बराबरको लगानी प्रतिबद्धता थपिएको हो ।
आव २०७८/०७९ को एक वर्षको अवधिमा २९५ विदेशी लगानीका उद्योगमा रु ५४ अर्ब १५ करोड बढीको लगानी प्रतिबद्धता आएकोे छ । आव २०७७/०७८ मा १८४ उद्योगका लागि रु ३२ अर्ब सात करोड बराबरको लगानी प्रतिबद्धता आएको थियो । उद्योग विभाग स्थापना भएदेखि हालसम्म रु चार खर्ब १९ अर्ब बढीको विदेशी लगानी प्रतिबद्धता आएको छ । रासस








