नवलपुरका सबै पालिकाले दिए सार्वजनिक बिदा

नवलपुर, फागुन १५ गते । नवलपुरका आठवटै पालिकाले आज सार्वजनिक बिदा दिएका छन् । ४३औं मगर एकता दिवसका अवसरमा जिल्लाका सबै पालिकाले सार्वजनिक बिदा दिएका हुन्।

२०७८ को राष्ट्रिय जनगणना अनुसार नवलपुरमा सबैभन्दा धेरै जनसंख्या मगरको रहेको छ । यहाँ कुल जनसंख्याको २८.१ प्रतिशत जनसंख्या मगरहरुको रहेको छ ।
२०३९ साल फागुन १५ गते तनहुँको सदरमुकाम दमौलीमा नेपाल लांघाली परिवार संघको स्थापना भएको दिनलाई मगर संघले राष्ट्रिय एकता दिवसका रुपमा मनाउँदै आएको छ । आज पालिकाअन्तर्गतका वडा कार्यालय, विद्यालय, स्वास्थ्य संस्था (अत्यावश्यक सेवाबाहेक), तथा सम्पूर्ण सार्वजनिक सघसंस्था बन्द रहने पालिकाहरुले विज्ञप्ति निकालेर जानकारी दिएका छन् ।
पञ्चायती व्यवस्थामा प्रहरी घेराबन्दीको बीच २०३९ फागुन १४, १५ र १६ गते हजारौं मगर समुदायको उपस्थितिमा दमौलीमा ‘नेपाल लांघाली परिवार संघ’ को प्रथम महाधिवेशन सम्पन्न भएको नेपाल मगर संघका केन्द्रिय सदस्य ईन्द्र फाल मगरले जानकारी दिनुभयो ।
सोही दिनको स्मरणमा फागुन १५ लाई संघको स्थापना दिवसका रूपमा मनाउने गरिएको मगरको भनाइ छ । यस दिनलाई मगर दिवस पनि भनिन्छ । २०४८ को चौथो महाधिवेशनले ‘नेपाल लांघाली परिवार संघ’ लाई नाम परिवर्तन गरी ‘नेपाल मगर संघ’ मा रूपान्तरण गरेको थियो ।
मगर दिवसका अवसरमा आज जिल्लाका विभिन्न स्थानमा मगर संस्कृति झल्काउने भेषभूषा, झाँकीसहित बृहत् र्‍याली र परम्परागत सोरठी, कौडा, सालैजो, घाटु नाच र विभिन्न सांस्कृतिक कार्यक्रम आयोजना गरिएको नेपाल मगर संघ, जिल्ला समन्वय समिति नवलपुरका अध्यक्ष भुम राई मगरले जानकारी दिनुभयो ।