फागुन १७ गते, एजेन्सी । अमेरिका–इजरायलले संयुक्त रूपमा इरानमाथि भिषण आक्रमण गरेका छन् । प्रत्याक्रमणस्वरूप इरानले इजरायलका साथै खाडीका विभिन्न देशमा रहेका अमेरिकी सैन्य अखडा लक्षित गर्दै मिसाइल प्रहार गरेको छ । युद्धलाई लिएर विश्वमा ध्रुवीकरण सुरु भएको छ ।
इजरायलले इरानमाथि हमला गरेको आठ महिनापछि इजरायल–अमेरिकाले शनिबार दोस्रोपटक भयानक हमला गरेका हुन् । शनिबार अचानक अमेरिका–इजरायलले संयुक्त हवाई आक्रमण गरेपछि प्रत्याक्रमणस्वरूप इरानले खाडीका विभिन्न देशमा रहेका अमेरिकी सैन्य अड्डा र सम्पत्तिलाई लक्षित गर्दै मिसाइल आक्रमण गरेको हो ।
ओमानको मध्यस्थतामा जेनेभामा भएको उच्चस्तरीय अमेरिका–इरान आणविक वार्ता निष्कर्षविहीन टुंगिएको दुई दिनपछि युद्ध सुरु भएको हो । अमेरिका–इजरायलको संयुक्त आक्रमण तथा इरानको प्रत्याक्रमणले पश्चिम एसिया (मध्यपूर्व)मा ठुलो तनाव सुरु भएको छ ।
इजरायलसहित बहराइन, साउदी अरेबिया, कतार, संयुक्त अरब इमिरेट्स, जोर्डन र इराकमा मिसाइल तथा हवाई आक्रमण गरेर इरानले आफूमाथिको आक्रमणलाई क्षेत्रीय तनावमा रूपान्तरण गरेको छ । यसले क्षेत्रीय युद्ध दीर्घकालीन रूपमा फैलिन सक्ने जोखिम बढाएको छ ।
इजरायल र अमेरिकाका सुरक्षा फौजले इरानका सर्वोच्च नेता अयोतुल्लाह खमेनी, राष्ट्रपति कार्यालयसहित इरानी रिभोल्युसनरी गार्डका व्यारेकीय भवनमा हमला गरेका थिए । अमेरिका र इजरायलले संयुक्त रुपमा दक्षिणी इरानको एक विद्यालयमा गरेको आक्रमणबाट कम्तीमा १०८ जनाको मृत्यु भएको स्थानीय सरकारी अधिकारीले बताएका छन् ।
इरानभर भएका हवाई आक्रमणमा भने कम्तीमा २०१ जनाको मृत्यु र ७४७ जना घाइते भएको तथ्यांक छ । राष्ट्रपति मोसुद पेजेस्कियानले विद्यालयमा भएको आक्रमणलाई ‘जंगली कार्य’ र ‘आक्रमणकारीहरूले गरेका असंख्य अपराधहरूको इतिहासमा अर्को कालो पाना’ भनेर टिप्पणी गरेका छन् ।
इजरायल र अमेरिकाबाट भने विद्यालयमा आक्रमण भएको विषय पुष्टि भएको छैन । उक्त विद्यालय इरानको इस्लामिक रिभोल्युशनरी गार्ड कोर (आईआरजीसी) को क्याम्पबाट करिब ६०० मिटर नजिकै पर्दछ । आईआरजीसी क्याम्प इजरायल र अमेरिकाको आक्रमणको निशाना बनेको थियो ।









