काठमाडौं । पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन् । ओलीको गुण्डुस्थित निवासमा प्रवेश गरेर प्रहरीले पक्राउ गरेको हो । उनलाई पक्राउ गर्न रातिदेखि नै प्रहरी टोली ओली निवास गुण्डु पुगेको थियो ।
अध्यक्ष ओलीलाई पक्राउ गर्न प्रहरीले मध्यरातिदेखि नै एसएसपी सन्तोष खड्काको नेतृत्वमा टोली खटाएको थियो ।काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी खड्काको टोली भक्तपुर प्रहरीका विभिन्न युनिटसहित ओली निवास गुण्डु पुगेका थिए ।
टोली पुग्दा ओली सुतिसकेका थिए । त्यसैले उनको निवास वरपर प्रहरीले तैनाथ गरेर बसेको थियो र बिहान उठ्नेबित्तिकै नियन्त्रणमा लिइएको हो ।
उनलाई पक्राउ गरी महाराजगन्जस्थित प्रहरी प्रतिष्ठानमा लगिने र थप कानूनी प्रक्रिया आइतबार पूरा गरिने प्रहरीस्रोतले जनाएको छ । ओली आफ्नै गाडीमा प्रहरीसँग गएका छन् ।
प्रहरी आइजीपीको नक्सालस्थित निवासमा गृहमन्त्री सुधन गुरुङसहित मध्यरातसम्म भएको छलफलपछि गृह मन्त्रालयले राति नै ओलीलाई पक्राउ गर्न लिखित आदेश दिएको थियो । आदेशानुसार प्रहरी परिचालित भएको हो ।
जेन–जी विद्रोहका क्रममा तत्कालीन प्रधानमन्त्री रहेका ओली दोषी रहेको गौरीबहादुर कार्की नेतृत्वको आयोगले किटान गरेको थियो । आयोगले ओलीसहित तत्कालीन गृहमन्त्री रमेश लेखकलगायतलाई कारबाही गर्न सिफारिस गरेको थियो ।
वालेन्द्र शाह नेतृत्वको सरकारले शुक्रबार उक्त प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेको थियो । त्यसपछि शनिबार बिहान ओलीलाई पक्राउ गरिएको हो ।
यसबैचीच ओलीले आफूलाई पक्राउ गर्नु प्रतिशोधपूर्ण भएको बताएका छन् । जेनजी आन्दोलनका क्रममा नागरिकको ज्यान गएको घटनाको आरोपमा प्रहरीले शनिबार बिहान पक्राउ गरेपछी ओलीले प्रतिशोधपूर्ण पक्राउ भनेका हुन् ।
आफूलाई पक्राउ पुर्जी लिएर प्रहरी आएपछि उनले वकिलहरुसँग परामर्श गरेका थिए । त्यसक्रममा उनले यस्तो बताएका हुन् । ‘यो पक्राउ प्रतिशोधपूर्ण छ । यसको कानुनी लडाईं लड्छु तपाईंहरू तयारी गर्नुहोस्’ ओलीले वकिलहरूसँग भनेका थिए । उनले पूर्वमहान्यायाधिवक्ता रमेश बडाल र वरिष्ठ अधिवक्ता टिकाराम भट्टराईसँग परामर्श गरेका थिए ।









