नवलपुर उद्योग वाणिज्य संघले विपत् राहात कोष स्थापना गर्ने

कावासोती, बैशाख ७ गते । नवलपुर उद्योग वाणिज्य संघ नवलपुरले आफ्ना सदस्यहरुको लागि विपत व्यवस्थापन कोष स्थापना गर्ने निर्णय गरेको छ । नवलपुर उद्योग वाणिज्य संघ नवलपुरको बैशाख महिनाको नियमित बैठकले उक्त निर्णय गरेको संघका महासचिव रमेश अधिकारीले जानकारी दिए ।

नवलपुर उद्योग वाणिज्य संघको सदस्यता नविकरण तथा नयाँ सदस्यता प्राप्तीका लागि बुझाउनु पर्ने रकमको ५ प्रतिशत रकम विपत व्यवस्थापन कोषमा जम्मा गर्ने निर्णय गरेको संघका अध्यक्ष बुद्धिसागर पोख्रेल (सागर)ले बताए ।

पोख्रेलका अनुसार संघमा आवद्ध सदस्यहरुको व्यावसायीक फममा भैपरि आउने प्राकृतिक विपत र व्यावसायीका समस्यमा उद्योग वाणिज्य संघ साथमा छ भन्ने आभास दिलाउन कोष स्थापना गर्ने निर्णय गरिएको हो ।

उनले नयाँ सदस्यता प्रदान गर्दा र नविकरण गर्दा सदस्यहरुबाटै प्राप्त रकमको केही प्रतिशत कोषमा जम्मा गर्ने, संघले गर्ने मेला महोत्सवबाट प्राप्त केही प्रतिशत रकमसमेत भिन्न खाता संचालन गरी स्थापना गर्ने निर्णय गरीएको बताए । पोख्रलले इच्छुक व्यवसायीक व्यक्तिहरुले विपत व्यवस्थापन कोषमा सहयोग गर्न सकिने र कोषको खाता नम्वरसमेत सहज रुपमा उपलब्ध गराईने बताए ।

साथै बैठकले संघको तालिम हल निर्माणका लागि भिन्न खाता खोल्ने र विभिन्न संघ संस्था, व्यवसायीक फम, बस्तुगत संघ, उद्योग वाणिज्य संघहरुसँग सहयोगको लागी अपील गर्ने निर्णय समेत गरेकोछ । नवलपुर उद्योग वाणिज्य संघ नवलपुरले पहिलो बैठकबाट संघमा आवद्ध सदस्यहरुको एक लाख सम्मको दुर्धटना बीमा गर्ने निर्णय गरेको थियो ।