नवलपुर, बैशाख ८ गते । नवलपुर क्षेत्र नम्बर–१ का प्रतिनिधि सभा सदस्य राजन गौतमले जिल्लाका सबै कार्यालय प्रमुखहरुलाई जनताको कामलाई द्रुत र प्रभावकारी बनाउन आग्रह गरेका छन् । उनले मंगलबार जिल्लास्थित सबै कार्यालय प्रमुखहरुलाई जिल्ला प्रशासन कार्यालयमा बोलाएर जनताको काममा ढिलासुस्ती नगर्न, विचौदियामुक्त गर्न र प्रभावकारी रुपमा सेवा प्रवाह गर्न आग्रह गरेका हुन् ।
गौतमले आफू नीति बनाउने ठाँउमा र कर्मचरीहरु त्यो नीति कार्यान्वयन गर्ने ठाउँमा भएकाले दुबै पक्ष जनताको हितको लागि काम गर्नु पर्ने ठाउँमा रहेको भन्दै दुबै पक्ष मिलेर जनताका कामलाई प्रभावकारी रुपमा सम्पन्न गर्नु पर्ने बताए । जिल्ला प्रशासन र जिल्ला प्रहरी कार्यालयमा नागरिक बढी ठोक्किने भएकाले आफू दुबै कार्यालयसँग नियमित समन्वय गरिरहेको उनले बताए ।
मालपोल र नापी कार्यालयमा भने जनताका अलि बढी गुनासाहरु आईरहेको र विचौलियाहरु पनि हावि हुने गरेकाले सचेत रहन उनले आग्रह गरे । उनले रानीतिक नेताहरुलाई खुशी पार्न नपर्ने भन्दै नागरिकलाई खुशी पार्न आग्रह गरे ।
त्यसअघि जिल्ला प्रशासन, जिल्ला प्रहरी, ट्राफिक प्रहरी, राष्ट्रिय अनुसन्धान, मालपोत, नापी, यातायात, प्रादेशिक अस्पताल, भूमिगत सिंचाई, विद्युत लगतयत कार्यालयका प्रमुखहरुले आफूहरुले गरिरहेका काम र भोग्नु परेका समस्याबारे सांसद गौतमलाई जानकारी गराएका थिए ।









