काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने क्रममा टर्किस एयरलाइन्सको जहाजको चक्कामा आगो लागेको छ । इस्तानबुलबाट सोमबार बिहान काठमाडौँ आएको टीके७२६ कल साइनको विमानमा ल्याण्ड हुँदा आगो लागेको हो ।
विमानस्थल सुरक्षा कार्यालयका एसपी राजकुमार सिलवालका अनुसार घटनालगत्तै दमकल पुगेर आगोलाई नियन्त्रणमा लिइएको छ ।
विमानमा २७८ जना यात्रु र ११ जना चालक दलका सदस्य रहेको प्रारम्भिक जानकारी प्राप्त भएको छ । विमानमा संयुक्त राष्ट्र संघका कूटनीतिज्ञहरु समेत सवार रहेको एसपी सिलवालले जानकारी दिए ।
चक्कामा आगलागी भएपछि बन्द भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल डेढ घण्टापछि सञ्चालनमा आएको छ ।विमानस्थलका निमित्त महाप्रबन्धक टेकनाथ सिटौलाका अनुसार आज बिहान ६ः४५ बजेदेखि बन्द भएको विमानस्थल करिब डेढ घण्टापछि सञ्चालनमा आएको हो ।









