नेकपा एसको पोलिट्ब्युरोले पनि सरकारमा जाने/नजाने निर्णय गर्न सकेन, जिम्मा अब सचिवालयलाई

काठमाडौं। नेकपा एकीकृत समाजवादी पार्टीको पोलिट्ब्युरो बैठकले पनि सरकारमा जाने नजाने बारे निर्णय नगरी सकिएको छ । दुई दिन बसेको स्थायी कमिटी बैठकले निर्णय गर्न नसकेपछि पोलिट्ब्युरो बैठक बोलाइएको थियो । 

पोलिट्ब्युरोले पनि निर्णय गर्न नसकेपछि पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा सहभागी हुनेबारे एकीकृत समाजवादीको बैठक बिना निष्कर्ष सकिएको छ ।

पोलिटब्यूरो बैठकले सरकारमा सहभागी बारेको निर्णय लिन केन्द्रीय सचिवालयलाई जिम्मा दिएको प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए । पोलिटब्युरो बैठकपछि प्रचार विभाग प्रमुख खतिवडाले भने,‘सरकारमा सहभागी हुनेबारे पोलिटब्‍यूरो बैठकले केन्द्रीय सचिवालयलाई संयोजन गर्ने अधिकार प्रदान गरेको छ । केन्द्रीय सचिवालयले यसको बारेमा आवश्‍यक अध्ययन, अनुसन्धान, विचार विमर्श गरेर अन्तिम निर्णय लिनेछ ।’

एकीकृत समाजवादी भित्र प्रचण्ड नेतृत्वको सरकारलाई समर्थन गर्ने नगर्ने र सरकारमा जाने नजाने विषयमा दुई थरी मत देखिएपछि बैठकले निर्णय गर्न सकेको छैन ।