नवलपुर, जेठ १ गते । नवलपुरको कावासोती नगरपालिका–१ स्याउलीको मकैबारीमा दुर्लभ एकसिंगे भाले गैँडा मृत फेला परेको छ । अन्दाजी १०/१२ वर्षको गैँडा मृत फेला परेको घटनास्थलमा रहनु भएका डिभिजन वन अधिकृत विष्णु प्रसाद अधिकारीले जानकारी दिए ।
शरिरमा कुने चोटपटक नभएको र बुढो पनि नभएकाले गैँडा मर्नुको कारण पत्ता नलागेको अधिकारीले जानकारी दिए । मकै बारीमा मरेकाले स्थानीयले थापेको पासो वा करेन्ट लागेर मरेको हुन सक्ने आशंका गरिएको छ । पोष्टमार्टम रिपोटपछि मात्र गैँडा मर्नुको कारण पत्ता लाग्ने अधिकारीले बताए । गैँडाको खाग र खुर सुरक्षित रहेको उनको भनाइ छ ।
गैँडाको पोष्टमार्टमका लागि चितवन राष्ट्रिय निकुञ्जबाट भेटेरीनरी चिकित्सकसहितको टोली परिचालन गरिएको निकुञ्जका सूचना अधिकारी अविनाश थापाले जानकारी दिए ।









