नवलपुर, जेठ २ गते । नवलपुरको कावासोती–१ स्याउलीस्थित मकै बारीमा मरेको २५ वर्षको भाले गैँडा करेन्ट लागेर मारेको प्रारम्भिक अनुसन्धानले देखाएको छ । डिभिजन वन कार्यालयले विज्ञप्ती निकालेर करेन्ट लगाई गैँडा मारेको प्रारम्भिक अनुसन्धान सार्वजनिक गरेको हो । विस्तृृत विवरण भने पोष्टमार्टम रिपोटपछि आउने कार्यालयले जनाएको छ ।
गैँडा मृत फेला परेको स्थान आसपास डिभिजन वन नवलपुरको टोलीले जिआइ तार बेरिएका २७ वटा बाँसका किल्ला र १३ मिटर सिंगल फेजको रिङ सहितको तारसमेत बरामद गरेको छ । सोही आधारमा गैँडालाई करेन्ट लगाई मारिएको कार्यालयका सूचना अधिकारी सुवास अधिकारीद्धारा हस्ताक्षरित विज्ञप्तीमा उल्लेख छ ।
डिभिजन वनले थप अनुसन्धानको प्रकृया पनि अगाडी बढाएको जनाएको छ । प्रहरीले अनुसन्धानका लागि मकै बारी रहेको जग्गा धनी भिमबहादुर दर्जीलाई नियन्त्रणमा लिएर अनुसन्धान अगाडि बढाईएको बताइएको छ । पोस्टमार्टमपछि गैँडालाई खाल्डो खनेर डिभिजन वन परिसरमा गाडिएको छ । गैँडाको खाग र खुर सुरक्षित रहेको जनाइएको छ ।









