नवलपुरबाट ४ जीपीएए ल्याउने विद्यार्थीलाई नगदसहित सम्मान र बजार परिक्रमा

नवलपुर, जेठ २ गते । माध्यमिक शिक्षा परीक्षा एसईईमा ४ जीपीए ल्याएका विद्यार्थीलाई कावासोतीको शिव नमुना मावि र देवचुलीको नेपाल नमुना माविले नगदसहित सम्मान र बजार परिक्रमा गराइएका छन् । शिव नमुना माविबाट प्रेरणा रानाभाट र आकृति भुसाल तथा नेपाल नमुना माविबाट आर्जन अधिकारीले ४ जीपीए ल्याएका थिए ।

शिव माविमा विद्यालयकै छात्रछात्राहरूले झ्याली, टेम्को, ढोलकी र सहनाईका तालमा जोर नर्सिङ्गा फुकेर विद्यार्थीलाई नाचगानसहित बजार परिक्रमा गराइएको थियो । विद्यालयले उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई जनही नगद ३० हजार रूपियाँले सम्मान गरेको छ भने नेपाल माविले ७५ हजार रुपियाँ प्रदान गरेको छ ।

१ सय ७९ विद्यार्थी ग्रेडेड शिव माविमा ३७ जनाले ए प्लसको नतिजा निकालेका छन् भने नमुना माविमा एकसय २४ जना विद्यार्थी सहभागी परीक्षामा ९७ जना ग्रेडेड भएका छन् ।

यस वर्ष नवलपुरबाट ९ सामुदायिक र १० संस्थागत विद्यालयका १९ जनाले ४ जीपीएको नतिजा निकालेका छन् । जिल्लाका ९१ सामुदायिक, ४८ संस्थागत, खुला एक र धार्मिक तीन गरी १४३ विद्यालयबाट कुल ५ हजार ६ सय ९७ विद्यार्थी सहभागी भएका थिए । तीमध्ये ४ हजार १ सय ३० विद्यार्थी ग्रेडेड भएका छन् भने १ हजार ५ सय ६७ विद्यार्थी नन–ग्रेडेड भएका छन् ।