भन्सार छलि ल्याएका ५८ लाख मूल्य बराबरका सामान नवलपुर प्रहरीको नियन्त्रणमा

नवलपुर, जेठ ४ गते । जिल्ला प्रहरी कार्यालय नवलपुरले अन्ठाउन्न लाख मूल्य बराबरका अवैध सामान बरामद गरेको जनाएको छ ।

देवचुली नगरपालिका–१६ रजहरमा बुटवलबाट नारायणघाटतर्फ जाँदै गरेको प्र.०३०३–००१ ख ३८२६ नम्बरको ट्रकबाट भन्सार छलि ल्याएका अवैध सामान बरामद गरिएको जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी, प्रहरी नायव उपरीक्षक अनिल पण्डितले जानकारी दिए ।

बिल भरपाइ नभएका सात सय थान एयर बर्ड, एक हजार छ सय ८० थान मोवाइलमा लगाउने शिशा, दुइसय पाँच थान स्मार्ट वाच, ६८ थान हेण्डसेट, ६५ जोर नाइक कम्पनीका जुत्ता, तीन सय ७४ जोर चप्पल र पानी नछिर्ने मोवाइल झोला सात हजार थान बरामद गरिएको पण्डितले जानकारी दिए ।

बरामद सामग्री आवश्यक कारवाहीका लागि महेशपुर भन्सार कार्यालय, नवलपरासी पश्चिम पठाइएको प्रहरीले जनाएको छ । भन्सार छलि चोरी निकासी भइरहेको भन्ने विशेष सुराकीका आधारमा अवैध सामान बरामद गर्न सफल भएको पण्डितको भनाइ छ ।

प्रहरीले ट्रक र चालक भक्तपुर सुर्यबिनायक नगरपालिका–८ का ३० वर्षीय सजेन्द्र मचामसीलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको जनाएको छ ।