नवलपुरका पत्रकार रामकुमार श्रेष्ठलाई पितृशोक

नवलपुर, जेठ ५ गते । नवलपुरका पत्रकार, दाउन्ने मिडियाका सञ्चालक, नयाँ पत्रिकाका जिल्ला संवाददाता एवं नेपाल आदिवासी जनजाति महासंघ, नवलपुरका जिल्ला अध्यक्ष रामकुमार श्रेष्ठलाई पितृशोक परेको छ ।

उनका बुवा टेक बहादुर श्रेष्ठको ७० वर्षको उमेरमा आज उपचारको क्रममा भरतपुर अस्पताल चितवनमा बिहान निधन भएको परिवारले जनाएको छ । केही दिनअघि स्वास्थ्यमा अचानक समस्या आएपछि उनलाई उपचारका लागि भरतपुर लगिएको थियो ।

श्रेष्ठको आजै कावासोतीको पिठौली घाटमा अन्त्येष्टि गरिएको छ । उनको पार्थिव शरीरमा नेकपा एमालेका केन्द्रीय सदस्य तिलक महतले पार्टीको झण्डा ओढाएर अन्तिम श्रद्धान्जली अर्पण गरे ।

२०१२ साल असार १२ गते जन्मिएका श्रेष्ठको परिवार तनहुँ घिरिङ गाउँपालिकाबाट २०२६ सालमा बसाई सरी नवलपुर आएको थियो । हाल उनको परिवार कावासोती–३ मा स्थायी बसोवास गर्दै आएको छ । नेकपा एमालेको संगठित सदस्य रहेका उनी २०५४ र ०५८ सालमा भएको स्थानीय निर्वाचनमा वडा सदस्यमा निर्वाचित भएका थिए । श्रेष्ठका श्रीमती, एक छोरा र एक छोरी रहेका छन् ।

यसैबीच नेपाल पत्रकार महासंघ नवलपुर शाखाले उनको निधनप्रति गहिरो दु:ख प्रकट गरेको छ । महासंघका सचिव आशिष रेग्मीले विज्ञप्ती निकाल्दै पितृशोकमा परेका रामकुमारसहित शोकाकुल परिवारमा गहिरो समवदना ग्रकट गरेका छन् ।