नवलपुर, जेठ ६ गते । पूर्वपश्चिम राजमार्ग अन्तर्गत नवलपुरको विनयी त्रिवेणी गाउँपालिका–२ ज्यामिरेको ओरालोमा बस अनियन्त्रित भई अन्य दुईवटा सवारी साधनमा ठोक्किँदा बसमा सवार १३ जना घाइते भएका छन् ।
बुधबार बिहान नेपालगञ्जबाट काठमाडौंतर्फ जाँदै गरेको बा.प्र.०३–००१ ख १९१० नम्बरको बस सोहि दिशातर्फ जाँदै गरेको प्र.नं.१ –०१–००१ ख ३७५९ नम्बरको बस र बिपरित दिशामा गुडिरहेको बा.प्र.०३–००१ ख १०४९ नम्बरको ट्रकसँग ठक्कर खाई सडकमा पल्टिएर दुर्घटना भएको नवलपुर प्रहरीले जनाएको छ ।
बा.प्र.०३–००१ख १९१० नम्बरको बसमा सवार ४३ जना यात्रुमध्ये १३ जना घाईते भएका जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी, प्रहरी नायव उपरीक्षक अनिल पण्डितले जानकारी दिए ।
दुर्घटनामा बर्दिया बासगढी नगरपालिका–५ का ३१ वर्षीया चन्द्रकला आचार्य र उहाँको आमा ५५ वर्षीया जोमीसरा शर्मा, २० वर्षका सञ्जिव थारु, ३१ वर्षीया निता थारु, उहाँकी ६ वर्षीया छोरी अनुशा र ३८ वर्षका हरि दर्लामी मगर घाइते हुनु भएको पण्डितले जानकारी दिए ।
त्यस्तै कैलाली टिकापुर नगरपालिका–१ का ४० वर्षीया कमला दमाई, बाँके राप्ती सुनारी गाउँपालिका–५ का ४४ वर्षका पिमा थारु, कोहलपुर नगरपालिका–११ का २१ वर्षीय केशव शर्मा, सल्यान बनगाड कुपिण्डे नगरपालिका–३ का १९ वर्षीया चेतना पुन मगर, काभ्रे बनेपा–१२ का २६ वर्षीया मुना भुजेल, कैलाली घोडाघोडी–१ सुखडका २८ वर्षीया पुजा चौधरी र उहाँकी ७ महिनाकी छोरी क्रिसा घाइते भएका छन् ।
घाइतेहरुमध्ये ८ जनालाई थप उपचारका लागि पुरानो मेडिकल कलेज भरतपुर पठाइइएको र अन्यको बिनयी त्रिवेणी आधारभुत अस्पताल दुम्किबासमा उपचार भइरहेको पण्डितले जानकारी दिए ।









