हर्क साम्पाङसहितका सांसदलाई बैठकबाट बाहिर निकाल्ने सभामुखको चेतावनी (भिडियो)

सभामुख डोलप्रसाद अर्यालले श्रम संस्कृति पार्टीका सांसदहरुलाई बैठकबाट बाहिर निकाल्ने चेतावनी दिएका छन्।

प्रतिनिधि सभा बैठकमा श्रम संस्कृति पार्टीका सांसदहरुले केही दिन यता निरन्तर पर्चा देखाएर विरोध जारी राखेपछि बुधवार सभामुखले यस्तो चेतावनी दिएका हुन् ।

’हर्कराजराई सहित श्रम संस्कृति पार्टीका माननीय सदस्यहरुले नियमित रुपमा सभाको मर्यादा विपरीत प्लाकार्ड देखाउने, अभद्र व्यवहार देखाउने गरेकाले म माननीय सदस्यहरुलाई प्रतिनिधि सभा नियमावलीको नियम ३० बमोजिम आफ्नो क्रियाकलपा तथा व्यवहार सच्याउन चेतावनी दिन्छु’, सभामुख अर्यालले रुलिङ गरे ।

नियम ३० मा भनिएको छ, चेतावनीः बैठकमा अभद्र व्यवहार गर्ने सदस्यलाई आफ्नो व्यवहार नियन्त्रण गर्न सभामुखले चेतावनी दिन सक्नेछ र चेतावनी पाएपछि त्यस्तो सदस्यले आफ्नो व्यवहारमाथि तुरुन्त नियन्त्रण गर्नु पर्नेछ ।’
प्रतिनिधि सभा नियमावलीको नियम ३० को चेतावनी बमोजिमको आदेश पालना नगर्ने सांसदलाई सभामुखले बैठक कक्षबाट निष्कासन गर्ने व्यवस्था छ।

‘नियम ३० बमोजिमको आदेश पालना नगर्ने सदस्यलाई सभामुखले बैठक कक्षबाट बाहिर जान आदेश दिन सक्नेछु, प्रतिनिधि सभा नियमावलीको नियम ३१ मा भनिएको छ, ‘आदेश पाएपछि त्यस्तो सदस्य बैठक कक्षबाट तुरुन्त बाहिर जानु पर्नेछ। निजले सो दिनको बाँकी अवधिको बैठकमा उपस्थित हुन पाउने छैन।’

बुधबार पनि श्रम संस्कृति पार्टीका सांसदहरुले पर्चा दखाउँदै सरकारलाई संसदप्रति जवाफदेही तुल्याउन सभामुखसँग माग गरेका थिए। दलका नेता हर्कराज राई (हर्क साम्पाङ)ले नियमावलीको नियम १५ को २ बमोजिम आकस्मिक, शून्य र विशेष समयमा उठेका प्रश्नको सात दिन भित्र सम्बन्धित मन्त्रीले जबाफ दिनुपर्ने व्यवस्था कार्यान्वयन गर्न माग गरेका थिए।

श्रम संस्कृति पार्टीका सांसदहरुले बैठक सुरू भएलगत्तै आफूले ल्याएको पर्चा सुरुआतमा सभामुखलाई देखाएका थिए। लगत्तै उनीहरुले पर्चामा लेखिएको विषय पढेर सुनाएका थिए।

दल नेता साम्पाङले ’संसदीय सर्वोच्चता कायम गर, सरकार संसदप्रति जवाफदेही बन्नैपर्छ, विधिको शासन लागू गर र प्रतिपक्षीको आवाज दबाउन पाइँदैन’ भनेर लेखिएको पर्चामा भएको नारा पढेर सुनाएका थिए।

पार्टीका अन्य सांसदहरुले ’संसदीय सुनुवाइ समितिमा सहभागी गराउन, संसदीय विभेद बन्द गर्न र प्रतिपक्षीको संसद भएको स्थापित गर्न माग गरेका थिए। श्रम संस्कृति पार्टीका सांसदहरुले बोल्न समय बढाउन, सुकुमबासीलाई बाँच्न दे, गरिब मार्न पाँइदैन, सहकारी पीडितलाई न्याय दे, विदेशी ऋण बन्द गर, सरकार जवाफदेही बन्नुपर्छ, संसदीय कर्तव्य पूरा लगायतका नारा लेखिएको पर्चा पढेर सुनाएका थिए।

श्रम संस्कृति पार्टीका सांसदहरुले प्रधानमन्त्री वालेन्द्र शाहलाई संसदमा उपस्थित गराउनु पर्नेमा र आफूहरुले प्रश्न सोध्न पाउनुपर्ने माग गर्दै आएको छ । श्रम संस्कृतिले सरकारको नीति तथा कार्यक्रम माथिको छलफलमा उठेका प्रश्नको जबाफ दिन नआएको विरोध गरिरहेको छ । यो पार्टीका सांसदले बैठक समेत बहिस्कार गरेका छन् ।

हेर्नुहोस् भिडियो

के बोलेका थिए हर्क साम्पाङले