काठमाडौं । डाबर ब्राण्डको मह गुणस्तरहीन भेटिएपछि सरकारले तत्काल बजारबाट फिर्ता गर्न आदेश दिएको छ ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले जारी गरेको सूचनाअनुसार बजार अनुगमन तथा नमुना परीक्षणका क्रममा डाबर ब्राण्डको ५ सय ग्राम प्याकेटको मह गुणस्तर मापदण्ड अनुसार नभएको भेटिएको पाएपछि यस्तो निर्देशन दिएको हो ।
ब्याच नम्बर ‘ल्द्य००४७७’ रहेको मह प्रयोगशाला परीक्षणमा प्रतिकूल देखिएपछि बजारबाट तत्काल फिर्ता गर्न निर्देशन दिएको विभागले जनाएको छ ।
विभागबाट जारी सूचनाअनुसार उत्पादनको उत्पादन मिति २०२५÷१२ उल्लेख गरिएको छ भने उपभोग अवधि १८ महिना रहेको छ ।
विभागले खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ को व्यवस्थाअनुसार सम्बन्धित ब्याचका सबै उत्पादन बिक्री वितरण नगर्न तथा नगराउनसमेत निर्देशन दिएको छ ।
महको उत्पादक कम्पनी डाबर नेपाल प्रा. लि. जितपुर सिमरा बारा रहेको विभागले जनाएको छ ।










