पोखराको पर्यटनलाई नवलपुरसँग जोड्ने प्रयास

बोमलाल गिरी
नवलपुर, जेठ ७ गते । नवलपुर जिल्ला भौगोलिक दृष्टिले अत्यन्त विविध छ । दक्षिणतिर तराईको समथर भू–भाग, उत्तरतिर पाखा, पखेरा, जंगल सहितका पहाडी भू–भाग, बीचमा नदी, चितवन राष्ट्रिय निकुन्ज, मध्यवर्ती क्षेत्रसहितको जंगल तथा मानवस्ती रहेको सुन्दर क्षेत्र ।

जसले विविध प्रकारका पर्यटकहरुलाई आकर्षित गर्ने क्षमता राख्दछ । नवलपुरको सबैभन्दा ठूलो प्राकृतिक सम्पदा भनेको नेपालको सबैभन्दा पुरानो चितवन राष्ट्रिय निकुञ्ज हो । जसको पश्चिम भाग नवलपुर पर्दछ ।

राजश्व संकलन होस वा वन पैदावार र वन्यजन्तुका हिसावले नवलपुर गण्डकी प्रदेशकै अग्रणी जिल्लामा पर्छ । पर्यटकीय हिसावले अथाह संभावना बोके पनि ओझेलमा परेको जिल्ला हो नवलपुर । प्रयाप्त संभावना भएर पनि जिल्लामा उलेख्य मात्रामा पर्यटक भित्राउन नसकेको पर्यटन व्यवशायी बताउँछन् ।

नेपाल भ्रमण गर्ने पर्यटकमध्ये ठूलो हिस्सा गण्डकी प्रदेशको राजधानी पोखरा पुग्ने गरेको छ । त्यहाँ पुग्ने पर्यटकमध्ये पाँच प्रतिशत मात्र पनि नवलपुर ल्याउन सक्ने हो भने ठूलो उपलब्धि हुने ठान्नुहुन्छ होमस्टे सञ्चालक एवं नेचर गाइड ज्ञान बहादुर बोटे ।

‘‘नेपाल आउनेहरुमा धेरै वन्यजन्तु अवलोकनका लागि आउने गर्छन् तर वन्यजन्तु पर्यटनको हव चितवनको सौराहालाई मात्र ठानिन्छ,’’ बोटेले भने, ‘‘त्यहाँ आएका पर्यटकको केही संख्या नवलपुर भित्र्याउन सकेपनि ठूलोउपलब्धि हुन्थ्यो, त्यो पनि भएको छैन ।’’

तराईदेखि भित्री मधेस हुँदै पहाडसम्म फैलिएका भू–भाग, चितवन राष्ट्रिय निकुञ्जको जैविक विविधता, जंगल सफारी, थारु र मगर समुदायको मौलिक संस्कृतिले जो कोहि पर्यटकलाई सजिलै आकर्षित गर्न सक्ने बताउँछन् पर्यटन समिति नवलपुरका अध्यक्ष फन्सराम महतो ।

‘‘नवलपुर घुमेर फर्किएको पर्यटक पटक–पटक यहाँ आउन चाहान्छ, उसले अन्य पर्यटकहरुलाई समेत नवलपुर घुम्न सिफारिस गर्दछ,’’ महतोले भने, ‘‘तर नवलपुरले त्यो अनुसारको तयारी गर्न सकेको छैन । सोही अनुसारको प्रचार प्रसार पनि हुन सकेको छैन ।’’

यहाँ पाइने एकसिँगे गैंडा, बाघ, हरिण, घडियाल मगर गोही तथा सयौँ प्रजातिका चराहरूले नवलपुर जिल्लालाई वन्यजन्तु अवलोकनका लागि अद्वितीय बनाएका छन् । निकुन्ज मात्र नभई यहाँका सामुदायिक र मध्यवर्ती क्षेत्रका वनहरुमा समेत जंगल छिरेको केहि क्षणमानै गैँडा, हरिण, मृग लगायतको बथान देख्न सकिन्छ ।

बाघ अवलोकनका लागि समेत नवलपुर क्षेत्र चर्चित छ । ‘गैँडा हेर्न नवलपुर जाऔं’ भन्ने नारालाई प्रचार मात्र गर्न सकियो भने पनि यसले यहाँको पर्यटन विकासमा ठुलो टेवा पुग्ने बोटेको भनाइ छ ।

यही उद्देश्यले नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशले पोखरालाई नवलपुरको पर्यटनसँग जोडन विशेष पहल गरेको छ । महासंघ गण्डकी प्रदेश कार्यसमितिको आयोजनामा केही दिनअघि प्रदेशका सबै ११ जिल्लाका झण्डै ७० जना पत्रकारलाई नवलपुरको अमलटारी होमस्टेमा भेला गरी ‘गाउँ पर्यटन प्रवद्र्धनमा सञ्चारकर्मीको भुमिका’का विषयक अन्तरक्रिया गरेको छ ।

पत्रकारहरुको कलम र सामाजिक सञ्जालबाट नवलपुरको पर्यापर्यटन, जैविक विविधता र बन्यजन्तु पर्यटनको प्रचारप्रसार होस् भन्ने उद्देश्यले सबै पत्रकारहरुलाई जंगल सफारी गराइएको नेपाल होमस्टे महासंघका राष्ट्रिय अध्यक्ष प्रेम शंकर मर्दनीयाले बताउँछन् ।

विश्व सम्पदा सूचिमा सुचिकृत चितवन राष्ट्रिय निकुञ्जको एउटा अंग नवलपुर पनि भएकाले वन्यजन्तु पर्यटनका संगसँगै यहाँका रैथाने बोटे, माझी, मुसहर समुदायको रहनसहनलाई पनि पोखरा आउने पर्यटकसँग जोड्नका लागि पत्रकारहरको महत्वपूर्ण भूमिका रहेको मर्दनीयाको भनाइ छ । सहभागि पत्रकारहरुले पनि नवलपुरको पर्यटन र जंगल सफारीका बारेमा सक्दो प्रचार गर्ने प्रतिवद्धता जनाएका छन् ।

अन्तरक्रियामा सहभागिहरुले पनि नवलपुरमा उल्लेख्य मात्रमा बसोबास गर्ने थारु र मगर समुदायको मौलिक संस्कृति, परम्परागत नाचगान, उत्सव, खाना, घर वास्तुकलाले यस क्षेत्रलाई सामुदायिक पर्यटनको केन्द्र बनाएको बताएका छन् ।

पर्यटकले थारु नृत्य, मगर नाँच, झुम्रा, लाठी नाच परम्परागत खाना र गाउँजीवन नजिकबाट अनुभव गर्न पाउने भएकाले सास्कृतिक र सामुदायिक पर्यटनका हिसावले पनि नवलपुर उतिकै प्रचुर संभावना बोकेको जिल्ला भएको बताउँछन् पर्यटन व्ययवशायीसमेत रहेका मर्दनीया । यस प्रकारको सामुदायिक पर्यटनले स्थानीयलाई आत्मनिर्भर बनाउनुका साथै पर्यटकलाई पनि मौलिक अनुभव दिने उनको भनाइ छ ।