क्षेत्राधिकार बाहिर गएर नवलपुरका स्थानीय तहले  विज्ञापन कर उठाएको भन्दै विरोध

नवलपुर, जेठ ७ गते । नवलपुरका विभिन्न उद्योग वाणिज्य संघहरूले स्थानीय तहबाट व्यवसायीहरूमाथि विज्ञापन करका नाममा क्षेत्राधिकार बाहिर गएर कर असुली तथा अनावश्यक दबाब सिर्जना गरिएको भन्दै तत्काल रोक्न माग गरेका छन् ।

मध्यविन्दु उद्योग वाणिज्य संघ, देवचुली उद्योग वाणिज्य संघ, गैँडाकोट उद्योग वाणिज्य संघ र नवलपुर उद्योग वाणिज्य संघले संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै स्थानीय सरकार सञ्चालन ऐन, २०७४ तथा प्रचलित आर्थिक ऐनअनुसार स्थानीय तहले विज्ञापन कर लिन पाउने व्यवस्था भए पनि हाल केही पालिकाले व्यवसाय सञ्चालनसम्बन्धी कानुन विपरीत व्यवसायीलाई पत्राचार गरी रकम असुल्न खोजेको भन्दै गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् ।

विज्ञप्तिमा गण्डकी प्रदेश सरकारले जारी गरेको प्राइभेट फर्म दर्ता नियमावली, २०७५ अनुसार व्यवसायीले आफ्नो फर्मको नाम, ठेगाना, दर्ता नम्बर र मिति उल्लेख भएको होर्डिङ बोर्ड राख्नुपर्ने व्यवस्था रहेको उल्लेख गर्दै उक्त परिचय बोर्डलाई नै विज्ञापनको रूपमा व्याख्या गरी कर असुल गर्न खोजिएको आरोप लगाइएको छ ।

संघहरूले व्यवसायीलाई धम्क्याउने, आतंकित बनाउने तथा अनावश्यक दबाब सिर्जना गर्ने गतिविधि तत्काल रोक्न आग्रह गर्दै नेपाल सरकार तथा गण्डकी प्रदेश सरकारको प्रचलित कानुनअनुसार मात्रै कार्य गर्न स्थानीय तहसँग माग गरेका छन् ।

संघहरूले बजार क्षेत्रमा अव्यवस्थित प्रचार सामग्री व्यवस्थापन, सडक पार्किङ, बिना दर्ता सञ्चालन भइरहेका डोर–टु–डोर व्यापार नियन्त्रण, हटलाइन व्यवस्था, सिसी क्यामेरा तथा सडक बत्ती जडान जस्ता विषयमा पनि स्थानीय तहसँग सहकार्य आवश्यक रहेको बताएका छन् ।

त्यसैगरी पेट्रोलियम पदार्थको मूल्यवृद्धिसँगै बजारमा परेको आर्थिक भारका बीच दोहोरो करले व्यवसायी थप मारमा परेको उल्लेख गर्दै यस्तो कार्य तत्काल बन्द गर्न माग गरिएको छ । संयुक्त विज्ञप्तिमा सम्पूर्ण उद्योगी तथा व्यवसायीलाई कानुनअनुसार व्यवसाय दर्ता गरी व्यवस्थित रूपमा व्यापार–व्यवसाय सञ्चालन गर्न समेत आग्रह गरिएको छ ।

उक्त संयुक्त विज्ञप्तिमा मध्यविन्दु उद्योग वाणिज्य संघका अध्यक्ष किरणकुमार श्रेष्ठ, देवचुली उद्योग वाणिज्य संघका अध्यक्ष सत्यनारायण भुसाल, गैडाकोट उद्योग वाणिज्य संघका अध्यक्ष दीपक सापकोटा र नवलपुर उद्योग वाणिज्य संघका अध्यक्ष सागर पोखरेलले हस्ताक्षर गरेका छन्।