रवि लामिछाने विरूद्धको सम्पत्ति शुद्धीकरण र संगठित अपराध अभियोग फिर्ता

कास्की जिल्ला अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरूद्धको सम्पत्ति शुद्धीकरण र संगठित अपराध कसुर फिर्ता गर्ने आदेश गरेको छ।

न्यायाधीश हिमलाल बेलबासेको आजको इजलासले सम्पत्ति शुद्धीकरण र संगठित अपराधको कसुर झिक्ने निर्णयलाई सदर गरेको कास्की अदालतका स्रेस्तेदार राजन खनालले थाहाखबरलाई जानकारी दिए।

अब लामिछानेसहित पोखराको सूर्यदर्शन सहकारीको मुद्दाका प्रतिवादीहरूलाई सहकारी ठगीको मात्रै अभियोग कायम रहने भएको छ। रवि लामिछानेसँगै जीबि भन्ने गितेन्द्रबाबु राई, छविलाल जोशी लगायतको पनि अन्य मुद्दा फिर्ता हुनेछ।

तत्कालीन महान्यायाधिवक्ता सविता भण्डारी बरालले सहकारी ठगीसम्बन्धी मुद्दा यथावत् राखेर सम्पत्ति शुद्धीकरण र संगठित अपराधसम्बन्धी अभियोग संशोधन गर्ने निर्णय गरेकी थिइन्। त्यसपछि जिल्ला सरकारी वकिल कार्यालयले सोहीबमोजिम अदालतमा निवेदन दिएको थियो।अदालतले निवेदकको मागबमोजिम हुने आदेश गरेको हो।
२०८१ असोज १८ गते कास्की जिल्ला अदालतमा रविविरुद्ध सूर्यदर्शन सहकारी ठगीसँगै संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा मुद्दा दायर भएको थियो।