नवलपुर, जेठ १० गते । नवलपुरको कावासोती नगरपालिकाका २३ वटा विद्यालयले विद्यार्थीलाई स्वरोजगारमूलक बनाउने अभियान सुरु गरेका छन् ।
मुख्यमन्त्री नवप्रवर्तन साझेदार कार्यक्रम अन्तर्गत १६ वटा माध्यामिक विद्यालय र ७ वटा निम्न माध्यामिक विद्यालयले विभिन्न प्रकारका तालिम दिएर विद्यार्थीलाई स्वरोजगारमूलक बनाउने अभियान सुरु गरेका हुन् ।
सोलार ड्रायर निर्माण तथा ड्राइफुड तयारी तथा बजारीकरण तालिम दिएर आत्मनिर्भर बनाउने अभियान सुरु गरेको नगरपालिकाका स्रोत शिक्षक तिर्जराज कंडेलले जानकारी दिए । विद्यार्थीलाई एक हप्तासम्म आलुको चिप्स, केराको चिप्स, करेलाको अचार, आँपको अचार लगायत बनाउने तालिम दिन थालिएको उनको भनाइ छ ।
राष्ट्रिय आविस्कार केन्द्रका वैज्ञानिकहरुले विद्यार्थीलाई विद्यालयमै पुगेर तालिम दिइरहेका छन् । नगरपालिकाले विद्यार्थीलाई उत्पादनसँग जोडेर विद्यार्थीलाई स्वरोजगारमूलक बनाउने प्रयास स्वरुप हरेक विद्यालयलाई एक लाख रुपियाँ सहयोग गरेको कँडेलले बताए । केही विद्यालयले तालिम दिइसकेका छन् भने केही दिन सुरु गरेका छन् ।
यो निक्कै उपयोगी कार्यक्रम भएकाले विद्यार्थीले उत्पादन गरेका सामग्रीको बजारीकरणका लागि पनि सहयोग गर्ने कावासोती–१६ डण्डामा रहेको दीपेन्द्र आधारभूत विद्यालयका प्रधानाध्यापक नलराज भुर्तेलले बताए ।
कावासोती १६ का वडा अध्यक्ष आनन्द श्रेष्ठले यो कार्यक्रम सफल भएमा अन्य कार्यक्रमका लागि वडाले पनि बजेट विनियोजन गर्ने प्रतिवद्धता जनाए।
जनकल्याण माविका प्रधानाध्यापक गिरीराज गिरीले यस्ता कार्यक्रमले विदयार्थीमा नयनाँ कुरा सिक्ने अवसर प्रदान गर्ने भएकाले भविश्यमा विदेश पलायल रोक्न सहयोगी हुने बताए ।









