काठमाडौं । मुख्यसचिव सुमनराज अर्यालको अध्यक्षतामा रहेको एक समितिले ५७ प्रतिशतसम्म तलब बढाउन सरकारलाई सिफारिस गरेको छ । अर्याल अध्यक्ष रहेको कर्मचारीको तलब भत्ता पुनरावलोकन समितिले उक्त सिफारिस गरेको हो ।
समितिले आगामी आर्थिक वर्षका लागि कर्मचारीहरुको तलब ५७ प्रतिशतसम्म बढाउन भनेको छ । सुझावमा महँगीसमेतलाई मध्येनजर गरी सरकारी कर्मचारीहरुको न्यूनतम र अधिकतम तलबको सीमा तोक्न भनिएको छ । सरकारले आगामी आर्थिक वर्षका लागि जेठ १५ गते बजेट ल्याउँदै छ ।
बजेटको पूर्र्वसन्ध्यामा कर्मचारीको तलब भत्ता पुनरावलोकन समितिले सरकारलाई सुझाएको हो । अर्याल समितिले मुख्यसचिव तहको तलब ५६.७१ प्रतिशतले वृद्धि गर्न सुझाएको छ । कार्यालय सहयोगी कर्मचारीको तलब २७ प्रतिशतले वृद्धि गर्न सिफारिस गरेको छ ।
माग बमोजिम तलब वृद्धि गर्दा ७७ हजार दुई सय ११ रुपैयाँ रहेको मुख्यसचिवको तलब १ लाख २१ हजार रुपैयाँ हुने छ । यस्तै, हाल २७ हजार ६ सय १२ रुपैयाँ रहेको कार्यालय सहयोगीको तलब बढेर ३५ हजार र ७७ हजार २ सय ११ रुपैयाँ हुने छ ।
कानुन सचिव पारास्वर ढुंगानाले निजामति कर्मचारीको तलब भत्ता पुनरावलोकनका लागि निजामति ऐनमै समितिको व्यवस्था रहेको बताउँदै तीनवर्षमा सुझाव दिने अभ्यास अनुरुप सिफारिस भएको जानकारी दिए ।
तत्कालीन अर्थमन्त्री जनार्दन शर्माको समयमा आर्थिक बर्ष २०७९/८० को बजेटमा कर्मचारीको तलब १५ प्रतिशतले बढेको थियो । चार बर्ष यता कर्मचारीको तलब बढेको छैन ।









