जंगली जनावरका संवेदनसिल अंगले निकुञ्जलाई तनाव

बोमलाल गिरी
नवलपुर, असार २ गते । चितवन राष्ट्रिय निकुञ्जले नौ वर्षसम्म वन्यजन्तुका अंगप्रत्यंग (आखेटोपहार) व्यवस्थापन नहुँदा चुनौती थपिएको जनाएको छ । भण्डारणको २० वर्षपछि वि.सं. २०७४ साल जेठ ८ गते चितवनको टिकौलीस्थित वनरक्षक तालिम केन्द्र र राष्ट्रिय निकुञ्जको मुख्यालय कसरामा संकलन गरिएका ४८ प्रजातीको वन्यजन्तुका आखेटोपहार जलाएर नष्ट गरिएको थियो ।

त्यसयता आखेटोपहार व्यवस्थापन नहुाँद संरक्षणमा चुनौती थपिएको निकुञ्का प्रमुख संरक्षण अधिकृत डिल बहादुर पुर्जा मगरले बताए । देशभरबाट संकलन भएका आखेटोपहारको केन्द्रीय भण्डारण चितवन राष्ट्रिय निकुञ्ज, कसरामा मात्र गर्न सकिन्छ ।

नौ वर्षसम्म पनि व्यवस्थापन नहुँदा भण्डारणमा समस्या भएको भन्दै छिटो व्यवस्थापनका लागि अनुमति दिन राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागमा लिखित जानकारी गराए पनि जवाफ नआएको निकुञ्जका सुचना अधिकारी अविनाथ थापा मगरले बताए ।

‘‘लामो समय व्यवस्थापन नहुँदा संवेदनशिल आखेटोपहार धुलिया लाग्ने, सड्ने, गल्ने र मक्किएर जाने चुनौती थपिएको छ,’’ थापाले भने, ‘‘आखेटोपहारलाई निरन्तर रेखदेख र अनुगमन तथा सुरक्षा दिने जनशक्ति पनि नभएकाले थप समस्या भोग्नु परेको छ ।’’ वन्यजन्तुका अंगहरु निश्चित समयपछि कुहिएर वा मक्किएर जाने भएकाले तिनको संरक्षणमा राज्यलाई अनावश्यक आर्थिक भार समेत पर्दै गएको बताइन्छ ।

चोरी शिकारी, तस्करी लगायतबाट बरामद भएको एकसिङ्गे गैंडाका खाग, चितुवा, हिउ चितुवा, हात्तीका दारा, पुच्छर, बाघको छाला, नंग्रा, हाब्रे, कस्तुरी, मृगको विना, भालुको पित्त, सालकको खपटा, अजिंगरको छाला, चितुवाको खप्परलगायत प्रजातिका आखेटोपहार संरक्षण गरेर राखिएको निकुञ्जले जनाएको छ ।

यी आखेटोपहार प्राकृतिक रुपमा मृत्यु भएका जंगली जनावरबाट संकलन गरिनुका साथै चोरीशिकारी वा अवैध व्यापारका क्रममा जफत गरिएका हुन् । तर यी अंगहरुलाई शिल गरेर भण्डारण गरी राखिने भएकाले कति मात्रामा छ भन्न नसकिने निकुञ्जको भनाइ छ ।

आखेटोपहार व्यवस्थापन सम्बन्धी कार्यविधि, २०७२ ले नेपालमा प्राकृतिक रूपमा मरेका वा बरामद गरिएका वन्यजन्तुका अंगप्रत्यंगहरूको संकलन, भण्डारण, परीक्षण र विसर्जन गर्ने स्पष्ट प्रक्रिया तोकेको छ । लामो समयसम्म प्रयोगविहीन अवस्थामा रहेका वा कुहिएर काम नलाग्ने अवस्थाका आखेटोपहारहरूलाई वन कार्यालयको जिम्मेवार अधिकारी र सरोकारवालाहरूको उपस्थितिमा जलाएर वा गाडेर वैज्ञानिक तरिकाले नष्ट गर्ने उल्लेख छ । सोही कार्यविधि अनुसार व्यवस्थापनका लागि विभागमा लिखित जानकारी गराएको सुचना अधिकारी थापाले बताए ।

विभागका वरिष्ठ इकोलोजिष्ट तथा सूचना अधिकारी हरिभद्र आचार्यले व्यवस्थापनको तयारी भइरहेको बताउ । ‘‘व्यवस्थापन नभएको पनि लामो समय भइसकेको छ, यसलाई मन्त्रिपरिषद्बाट निर्णय गराउनुपर्छ । हामी आवश्यक तयारी गरेर प्रस्ताव मन्त्रिपरिषद्मा लैजान्छौं, आचार्यले भन्नुभयो, ‘‘तर धेरै तयारी गर्नु पर्ने भएकाले समय लाग्न सक्छ ।’’

वन्यजन्तु मार्न प्रोत्साहन पुग्ने भएकाले जनावरका करोडौं मूल्य पर्ने यस्ता अंगप्रत्यङ्ग बेच्न भने पाइदैन । वन्यजन्तुका आखेटोपहारहरुको मुल्य शुन्य हुन्छ भन्ने सन्देश दिन आखेटोपहार नष्ट गर्ने गरिएको विभागका सूचना अधिकारी आचार्यले बताए ।

‘‘वन्यजन्तु जिउँदो हुँदामात्रै उनीहरुको अंगको महत्व हुन्छ, अन्यथा हुँदैन भन्ने सन्देश प्रवाह गर्नका भण्डारणमा रहेका अंगहरु जलाउने गरी कार्यविधि बनेको हो,’’ आचार्यले भने, ‘‘यसले वन्यजन्तुको चोरीसिकार शून्य र संरक्षणमा योगदान पुर्याउँछ ।’’

बन्यजनतुका दुर्लभ र महत्वपूर्ण अंग भने संरक्षण गरेर राख्नु पर्ने निकुञ्जले बताएको छ । बाघको छाला, हात्तीको दाह्रालगायतका अंगहरु त्यतिबेला पनि नष्ट गरिएको थिएन । प्राकृतिक वा अन्य कारणबाट मृत्यु भएका वन्यजन्तुबाट संकलन गरिएको वा प्रचलित कानून बमोजिम जफत गरिएको आखेटोपहार नेपाल सरकारले शैक्षिक वा अनुसन्धान गर्ने संस्थालाई शैक्षिक वा अनुसन्धान प्रयोजनको लागि प्रयोग गर्न भने दिन सक्ने व्यवस्था ऐनले गरेको छ ।

त्यस्तो आखेटोपहाललाई प्राकृतिक विज्ञान संग्राहालयमा प्रदर्शनीको लागि पनि राख्न सकिनेछ । तर संरक्षण गर्न उपयोगी र आवश्यक नदेखिएको आखेटोपहार भने सरकारले नष्ट गर्न सक्ने कानुनी व्यवस्था छ ।