प्रधानमन्त्री बालेन्द्र शाहले आफ्नो राष्ट्रियताप्रति प्रश्न नगर्ने अनुरोध गरेका छन् । रास्वपाको प्रथम महाधिवेशनमा सम्बोधन गर्दै वरिष्ठ नेता समेत रहेका शाहले यस्तो अनुरोध गरेका हुन् । उनले सीमाको विषयमा आफूले बोलेका विषयलाई लिएर भएको विवादप्रति इंगित गर्दै उनले भने,’मेरो राष्ट्रियताप्रति कसैले पनि आशंका गर्नुपर्दैन ।’
उनले नेपालको सीमाको विषयमा प्रमाण खोज्ने क्रममा त्यहाँ पुग्छौं भनेको उनले उल्लेख गरे । प्रधानमन्त्री शाहले प्रतिनिधिसभामा आफैँले नेपालले भारतले सीमा मिचेको भनेर दिएको अभिव्यक्तिका विषयमा प्रष्टिकरण दिए ।
संसद्मा उनले भारतसँगको सीमा विवादबारे ब्रिटिससँग पनि कुरा गर्न तयार रहेको बताएका थिए । यसबारे दुई देशको सीमा विवादबारे तेस्रो देशको उपस्थित किन चाहियो भनेर प्रश्न उठेको थियो । उनले यसबारे भने, ‘हामीसँग कालापानी लिपुलेकको प्रमाण छ । हामीले पहिले ब्रिटिसले राज गर्दाको प्रमाण ल्याउनुपर्छ भने ल्याउँछौं भनेका हौं । हामीले ब्रिटिसलाई मध्यस्त बनाउन खोजेका हैनौं ।’
उनले छिमेकीहरूसँग प्रमाणका आधारमा कुरा गरेर सीमा समस्या हल गर्ने पनि बताए । ‘हामी हाम्रा छिमेकीहरूसँग आफैँ कुरा गरेर मिलाउँछौं । हामीसँग प्रमाण छ, ‘ उनले भने,’मेरो राष्ट्रियताप्रति कसैले पनि आशंका मान्नुपर्दैन ।’









