नवलपुरको विनयी त्रिवेणीका दुई वडा लुम्विनी प्रदेशमा गाभ्न सिफारिस

बोमलाल गिरी

नवलपुर, असार ८ गते । गण्डकी प्रदेश अन्तर्गत नवलपुरको विनयी त्रिवेणी गाउँपालिकाले दुई वटा वडालाई लुम्बिनी प्रदेशमा गाभ्न सिफारिस गरेको छ ।

गाउँपालिकाको १९औं गाउँ सभाले विनयी त्रिवेणीका वडा नम्बर ६ र ७ लाई लुम्बिनी प्रदेशमा गाभ्न सिफारिस गर्ने निर्णय गरेको वडा नं. ६ का अध्यक्ष नुरेन्द्र शाहले जानकारी दिए ।

यी दुई वडा भौगोलिक र प्रशासनिक हिसावले विनयी त्रिवेणीमा आउजाउ गर्न असहज भएको भन्दै दुबै वडाको गाउँ भेलाले गण्डकी प्रदेशबाट छुट्टिने प्रस्ताव गाउँ सभामा लैजाने निर्णय गरेको थियो । सोही अनुसार प्रस्ताव गाउँभेलामा लगेको र गाउँ भेलाले सर्वसम्मत पारित गरेको अध्यक्ष शाहले बताए ।

गाउँ सभाले यो प्रस्ताव कार्यविधि अनुसार जिल्ला समन्वय समितिमा पेस गर्ने निर्णय पनि गरेको शाहले बताए । त्रिवेणी–दुम्किवास सडक खण्डको आठ किलोमिटर बाटो नछिचोलिँदा वडा नं. ६ र ७ का बासिन्दा आफ्नै पालिका, जिल्ला सदरमुकाम वा प्रादेशीक अस्पताल जानका लागि दाउन्ने हुँदै ६० किलोमिटर घुमेर अर्कै जिल्ला र अर्कै प्रदेश भएर जानुपर्ने बाध्यता छ । हुलाकी राजमार्ग अन्तर्गतको आठ किमी सडक बन्ने हो भने ६० किमीको सडक यात्रा २० किमीमा छोटिन्छ ।

तर यो बाटो निर्माण नभएपछि यहाँका बासिन्दा प्रदेश परिवर्तन गर्ने मनस्थितीमा पुगेका हुन् । गाउँपालिकाका अध्यक्ष घनश्याम गिरीले जनतालाई झुक्क्याउँदाको परिणाम भएको बताए ।

‘‘बाटो बन्छ भनेर जनतालाई आश्वासन दिने तर काम नगर्ने परिपार्टीका कारण यहाँका जनता आन्दोलित भएका छन्, अध्यक्ष गिरीले भने, ‘‘बाटो बनाउन भनेर गत वर्ष भर्दौमा लगेर दिएको फाइल अहिले पनि त्यही शाखामा छ । अब यहाँका नागरिकले प्रदेश परिवर्तनका लागि प्रदेश हुँदै केन्द्रसम्म जाने उनको भनाइ छ ।

राज्य पुनःसंरचना भएसँगै नवलपरासी बर्दघाट सुस्तापूर्वको विनयी त्रिवेणी गाउँपालिकामा परेको पवित्र तीर्थस्थल त्रिवेणीधाम आसापासका दुई वटा वडाबाट गाउँपालिकाको केन्द्र दुम्किबास बजार पुग्न लामो यात्रा गर्नुपर्ने बाध्यता छ ।

राज्य पुनःसंरचना हुनु अगाडिको साबिक त्रिवेणी सुस्ता गाउँविकास समिति टुक्रिएर केही भाग लुम्बिनी प्रदेशको सुस्ता गाउँपालिका र त्रिवेणी नाकासहितका केही क्षेत्र गण्डकी प्रदेशको विनयी त्रिवेणी गाउँपालिकामा राखिएको छ ।

तर आफ्नै पालिकाको केन्द्र पुग्न लुम्बिनी प्रदेश हुँदै लामो यात्रा गर्नुपर्ने बाध्यता नहटेकाले त्यहाँका बासिन्दाले दुम्किबास त्रिवेणी सडकखण्ड निर्माण गरेर सञ्चालन नगरे आफूहरूका लागि लुम्बिनी प्रदेशमै गाभिदा सहज हुने भन्दै आन्दोलन गर्ने चेतावनी पनि दिँदै आएका थिए ।

प्रदेशकै ‘लाइफलाइन’ मानिएको यो नाका दक्षिणमा त्रिवेणीबाट भारत र मुस्ताङको कोरलाबाट चीनसँग जोड्ने त्रिदेशीय नाका हो । गण्डकी प्रदेश सरकारले यसलाई गौरवको आयोजनामा राखेको छ ।

तर यो सडकको केही भाग चितवन राष्ट्रिय निकुञ्ज र मध्यवर्ती क्षेत्र पर्ने भएकाले त्रिवेणी–दुम्कीवास सडक खण्ड बन्न सकेको छैन । यी वडा लुम्बिनी प्रदेशमा गाभिएमा भारतसँग जोडिने गण्डकी प्रदेशको त्रिवेणी भन्सार कार्यालय र भारतसँगको सीमानाका बन्द हुन्छ ।