एमाले उपाध्यक्ष विष्णु पौडेल सम्पत्ति सुद्धिकरण कसुरमा सुर्खेतबाट पक्राउ

नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेललाई प्रहरीले पक्राउ गरेको छ । सम्पत्ति शुद्धीकरणको कसुरमा उपाध्यक्ष पौडेललाई सोमबार साँझ ६:०० बजे पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी प्रमुख प्रहरी उपरीक्षक ठाकुरप्रसाद पौडेलले जानकारी दिए ।

उनलाई सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–३ स्थित शुभ होटलको सभाहलबाट पक्राउ गरिएको हो । पौडेललाई आजै काठमाडौँ पठाउनका लागि स्थलगत मार्गबाट सुर्खेत प्रहरीले नेपालगञ्ज लिएर गएको प्रहरी उपरीक्षक पौडेलले बताए।

उपाध्यक्ष पौडेल एमालेको निर्वाचन समीक्षा तथा पार्टी पुनःगठनसम्बन्धी सुझाव सङ्कलन कार्यक्रमका लागि सुर्खेत पुगेका थिए

पूर्व अर्थमन्त्रीसमेत रहेका उपाध्यक्ष पौडेल बुटवल उपमहानगरपालिका–९ रुपन्देही घर भई हाल ललितपुर महानगरपालिका–२५ ललितपुरस्थित सैबु आवास आयोजनामा बसोबास गर्दै आएको प्रहरीले जनाएको छ । उनलाई प्रहरी उपरीक्षक पौडेलको नेतृत्वमा १० विशेष प्रहरी टोलीले पक्राउ गरेको जनाइएको छ ।

उनको काठमाडौं भैसेपाटीस्थित निवासमा पनि सम्पत्ति शुद्धीकरण विभागको टोलीले छापा मारेको छ ।