भीमकुमारी–ढुण्डिराज पत्रकारिता पुरस्कार सम्पादक गिरीलाई

नवलपुर, असार १४ गते । नेपाल पत्रकार महासंघ नवलपुर शाखामा स्थापना गरिएको भीमकुमारी–ढुण्डिराज पत्रकारिता पुरस्कार समाचार सेवा डटकमका सम्पादक एवं गोरखा पत्रका नवलपुर संवाददाता बोमलाल गिरीलाई प्रदान गरिएको छ ।

२२ वर्षदेखि निरन्तर मुलधारका मिडियामा आवद्ध भई पत्रकारिता गरिरहेका गिरीलाई महासंघको चौथो साधारण सभामा सम्मान तथा पुरस्कृत गरिएको महासंघले जनाएको छ ।

नवलपुरमा रहेर पत्रकारिता गर्दै आएका गिरीलाई प्रदान गरिएको उक्त पुरस्कार युवा उद्यमी तथा पत्रकार सागर पोख्रेलले आफ्ना माता–पिताको नाममा स्थापना गरेका हुन्।

त्यस्तै महासंघ नवलपुर शाखामा स्थापना गरिएको स्वर्गीय कृष्णलाल पराजुली स्मृति पत्रकारिता पुरस्कार–२०८३ नेपाल टेलिभिजनका नवलपुर संवाददाता धनु भुसाललाई प्रदान गरिएको छ।

महासंघ नवलपुरका निवर्तमान अध्यक्ष वीरेन्द्र पराजुलीले आफ्ना स्वर्गीय पिता कृष्णलाल पराजुलीको स्मृतिमा स्थापना गरेको उक्त पुरस्कार यस वर्ष भुसाललाई प्रदान गरिएको हो।

यसैगरी, महासंघले हरेक वर्ष प्रदान गर्दै आएको क्रियाशील पत्रकारिता पुरस्कारबाट विजय एफएम गैँडाकोटका पत्रकार श्रीधर शर्मा पुरस्कृत भएका छन्। तीनै जना पत्रकारलाई नगद, दोसल्ला र ताम्रपत्रले सम्मान गरिएको महासंघका सचिव आषिश रेग्मीले जानकारी दिए ।

यस्तै, नेपाल पत्रकार महासंघको सदस्यता लिएको २० वर्ष पूरा गरेको अवसरमा महासंघका निवर्तमान अध्यक्ष वीरेन्द्र पराजुलीलाई सम्मान गरिएको छ। पराजुली २०५६ सालदेखि नवलपुर तथा साविक नवलपरासी क्षेत्रमा विभिन्न सञ्चारमाध्यममार्फत सक्रिय पत्रकारितामा संलग्न रहँदै आएका छन्।

यसैबीच महासंघ नवलपुर शाखाको चौथो साधारण सभा सम्पन्न भएको छ। साधारण सभालाई सम्बोधन गर्दै महासंघका वरिष्ठ केन्द्रीय उपाध्यक्ष दीपक आचार्यले सरकारले सञ्चारमाध्यममाथि विज्ञापन रोक्ने लगायतका कार्यमार्फत प्रेस स्वतन्त्रतालाई कमजोर बनाउने प्रयास गरिरहेको आरोप लगाए।

उनले प्रेस स्वतन्त्रताको रक्षा गर्न महासंघ सशक्त आन्दोलनमा उत्रिनुपर्ने आवश्यकता औँल्याए। प्रमुख अतिथिसमेत रहेका आचार्यले सञ्चारमाध्यमलाई कमजोर बनाउने सरकारी नीतिको असर निजी क्षेत्रमासमेत पर्ने भएकाले प्रेस स्वतन्त्रताको पक्षमा निजी क्षेत्रले पनि महासंघको आन्दोलनमा साथ दिनुपर्ने बताए।

कार्यक्रममा महासंघका केन्द्रीय सदस्य केबी राना, प्रदेश अध्यक्ष रमेश पौडेल, प्रदेश संस्थापक अध्यक्ष नारायण शर्मा, नवलपुरका प्रमुख जिल्ला अधिकारी जगदीश्वर उपाध्याय, निवर्तमान अध्यक्ष वीरेन्द्र पराजुली, पूर्व अध्यक्ष होमराज रानाभाट, सल्लाहकार घनश्याम बगाले, नवलपुर उद्योग वाणिज्य संघका अध्यक्ष सागर पोख्रेल, नेपाल प्रेस युनियन नवलपुरका अध्यक्ष खगराज सापकोटा, प्रेस चौतारी नवलपुरका अध्यक्ष तीर्थ डुम्रे तथा प्रेस सेन्टर नेपाल नवलपुरका अध्यक्ष प्रीतम भुजेललगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए।

महासंघ नवलपुरका अध्यक्ष श्रीराम सिग्देलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा आर्थिक प्रतिवेदन, सचिवको संगठनात्मक प्रतिवेदन तथा अध्यक्षको प्रतिवेदन सभाबाट सर्वसम्मत पारित गरिएको सचिव रेग्मीले जानकारी दिए।