नवप्रवर्तनमा विद्यार्थीका प्रश्न, विद्यार्थीकै उत्तर

बोमलाल गिरी

नवलपुर, असार १५ गते । ‘‘जैविक फोहोर र पानीको मिश्रणलाई अक्सिजन नछिर्ने गरी ट्याङ्की भित्र राखी कुहाएर  निकालिने ग्यासलाई बायोग्यास भनिन्छ,’’ कावासोती–८ स्थित जनकल्याण माविको कक्षा १० मा अध्ययनरत छात्रा आयुष्का घिमिरेले सोधेको प्रश्नको जवाफ दिँदै बायो ग्यास निर्माणमा संलग्न कावासोती–११ स्थित नेपाल राष्ट्रिय आधारभूत विद्यालय कक्षा ८ मा अध्ययरत छात्र कुशल सुनार ।

कुशलको जवाफ टुङ्गिन नपाउँदै कावासोती १६ डण्डाको दिपेन्द्र आधारभूत विद्यालयको कक्षा ८ मा अध्ययनरत छात्रा दर्शना सुनारले सोधिन्, ‘‘बायोग्यास भित्र के–के हाल्न हुन्न र कस्ता सावधानी अपनाउनु पर्छ ?’’ निक्कै सान्दर्भिक प्रश्न भन्दै कुशलले भने, ‘‘भान्छाबाट निस्केको फोहोर, तरकारी केलाउँदा निस्केका बोक्रा र कुहिने अरू वस्तु राख्नुपर्छ ।’’

तर ध्यान दिनु पर्ने कुरा के छ भने यसमा अमिलो प्रकृतिका वस्तुहरू राख्नु हुँदैन, किन ? भन्ने प्रश्न तपाईंको मनमा उब्जे होला ! भन्दै कुशलले थप प्रष्ट्याउने प्रयास गरे, ‘‘यसमा ब्याक्टेरिया हुन्छ, जसले मिथेन, सल्फ्राइड, नाइट्रोजन जस्ता ग्यास उत्पादन गर्छ । तर त्यसमा अमिलो पर्यो भने ब्याक्टेरियालाई मारिदिन्छ र ग्यास बन्दैन । ग्यास नबनेपछि बायो ग्यासको कामै भएन ।’’

विद्यालय तहमा अध्ययनरत विद्यार्थीबिच निक्कै रोचक सवालजवाफ चलिरहेको छ । माथिल्लो कक्षाका विद्यार्थीलाई पनि तल्लो कक्षाका विद्यार्थीले जवाफ दिइरहेका छन् । यो अवसर जुराई दिएको हो कावासोती नगरपालिकाले ।

गण्डकी प्रदेश मुख्यमन्त्री नवप्रवर्तन साझेदारी कार्यक्रम अन्तर्गत नगरपालिकाले २३ वटा सामुदायिक विद्यालयमा ‘आविष्कार र उत्पादनको जग मेरो विद्यालय’ कार्यक्रम सञ्चालन गरिरहेको छ । जहाँ एउटा विद्यालयका विद्यार्थी अर्को विद्यालयमा पुगेर अनुभव र सिकाई आदानप्रदान गरिरहेका छन् ।

कावासोती १७ को चण्डेश्वरी माविले नवप्रवर्तन र उत्पादनशिलताका लागि ‘इको पोण्ड’ (पर्यावरणीय पोखरी) निर्माण गरेको छ । विद्यालयको छेवैमा निर्माण गरिएको यो पोखरीमा पानीको फोहरा र छहराले विद्यालयलाई नै सुन्दर बनाइदिएको छ भने त्यही पोखरीमा पालिएका माछाले व्यवसायिक उत्पादनलाई जोड दिएको छ ।

पोखरीमा पालिएका माछा पौष्टिक आहारको रूपमा विद्यालयको दिवा खाजा कार्यक्रममा प्रयोग गरिने परियोजनाका फोकल शिक्षक लेखनाथ पौडेलले जानकारी दिए । माछाका लागि बाहिरबाट दाना खरिद गर्दा खर्च बढी लाग्ने भएकाले दाना उत्पादन गर्न मेसिन पनि विद्यार्थी आफैले बनाएका छन् ।

कावासोती–१, रिठेपानीको जनकल्याण माविमा कक्षा ९ मा अध्ययनरत स्वर्णिम विश्वकर्माले माछाका लागि चिसो र चलायमान पानी उपयुक्त हुने भए पनि अहिले यहाँको तापक्रम उच्च रहेकाले पानी कसरी माछाउपयोगी बनाएको छ भन्ने प्रश्न राखे भने कावासोती–१२ स्थित शान्ति निकुञ्ज माविको कक्षा १२ मा अध्ययनरत समिक्षा तिवारीले पोखरी फोहोर हुँदा सफा गर्ने तरिकाका बारेमा जिज्ञासा राखिन्।

जवाफमा विद्यालयको कक्षा १० मा अध्ययनरत छात्र प्रणव बस्यालले जवाफ दिए । ‘‘तपाईँले सहि भन्नुभयो, माछाका लागि पानी चलायमान भयो भने राम्रो हुन्छ । चलायमान पोखरीलाई स्वच्छ पोखरी मान्न सकिन्छ ।

पानी चलायमान नहुँदा तापक्रम बढ्ने र अक्सिजनको तह पनि घट्ने हुँदा माछा मर्न पनि सक्छन् । त्यसैले हामीले मोटरको प्रयोग गरी पहाडदेखि तराईसम्म पानी कसरी बग्छ भन्ने सन्देश दिन छहरा र फोहराबाट पानीलाई चलायमान बनाएका छौं ।’’

त्यस्तै पोखरीभित्र मोटर राखेर ‘इनलेट र आउटलेट’ राखिएको छ र पानी फोहोर भएमा आउटलेटले पोखरी भित्रको पानी बाहिर फाल्छ र जालीको माध्यमबाट पनि फोहोर वस्तु निकाल्न सक्ने तथा धमिलो भएमा आउटलेटबाट पानी बाहिर फालेर सफा गर्न सकिने उनको जवाफ थियो ।

कावासोती १६ को जनता माविका विद्यार्थीले गरेको फालिएका पुराना कागजको पुर्नप्रयोग र त्रिभुवन बाल मावि ढोकीका विद्यार्थी रोबोटिक प्रविधिबाट बनाएको रोबोर्टमा पनि विद्यार्थीको चासो बढी थियो ।

नगरपालिका भित्रका २३ विद्यालयमा सञ्चालन भएका यी परियोजनाले विद्यालयलाई पढाइ हुने ठाउँ मात्र नभई सिकाइ, अनुसन्धान र उत्पादनको केन्द्र बनाउने प्रयास गरेको देखिन्छ ।

सामुदायिक विद्यालय परीक्षा, कागजी नतिजा र प्रमाणपत्रमा मात्र सीमित भएको भनेर आलोचित हुँदै आएको बेला कावासोती नगपालिकामा सन्चालन गरिएका यी कार्यक्रमले परम्परागत सोचलाई बदल्ने प्रयास थालेको ‘मेरो विद्यालय उत्पादन र आविसकारको जग’ कार्यक्रमका संयाेजक एवं शिव नमूना माविका सहायक प्रधानाध्यापक दीपक विष्टले बताए ।

दीपेन्द्र आधारभूत विद्यालय र जनकल्याण माविले सोलार ड्रायर, नेपाल राष्ट्रिय आधारभूत विद्यालयले बायोग्यास प्लान्ट, महाराजा आधारभूत विद्यालयले कम्पोस्ट बिन, नवदुर्गा आधारभूत विद्यालयले फलफूल नर्सरी, शिव माविले कुहिने फोहोरलाई प्राङगारिक मल तयारी तथा नर्सरी निर्माण, जनविकास आधारभुत विद्यालयले कम्पोस्ट मल तथा सानो वैज्ञानिक उपकरण निर्माण गरेका छन् ।

त्यस्तै जीवनज्योती माविले बेसार खेती र प्रसोधन एकाइ, सहिद स्मृति माविले प्लास्टिक टनेलमार्फत मौसमी र बेमौसमी तरकारी उत्पादन, सरस्वती मााविले कालो हलेदो खेती तथा प्रसोधन, कालिका माविले डिजिटल इनोभेसन ल्याब, जनता माविले एकीकृत हरितगृह निर्माण, ज्ञानोदय माविले जैविक विषादी निर्माण गरेका नगरपालिकाको शिक्ष, युवा तथा खेलकुद शाखा अधिकृत राजन पाण्डेले जानकारी दिए ।

हेर्नुहोस् भिडियो