अर्को व्यवस्था नहुँदा सम्मका लागि जंगल सफारी बन्द

नवलपुर, असार १७ । चितवन राष्ट्रिय निकुञ्ज र मध्यवर्ती क्षेत्रमा आजदेखि व्यवशायीक जंगल सफारी बन्द गरिएको छ । चितवन राष्ट्रिय निकुञ्जले एक विज्ञप्ती निकालेर आज बुधबारदेखि अर्को व्यवस्था नहुँदासम्मका लागि व्यवशायीक जंगल सफारी बन्द गरेको जानकारी दिएको हो ।

अधिकांश वन्यजन्तु तथा चराचुरुङ्गीहरुको प्रजनन्‌का लागि वर्षायाम उपयुक्त समय भएकाले जंगल सफारी बन्द गरिएको निकुञ्ज प्रशासनले जनाएको छ । साथै यस अवधिमा निकुञ्ज भित्रका कच्ची वनपथहरु बिग्रीने, जंगलमा भएका स–साना खोला खोल्सीमा भलबाढी आउने, रुख लडेर बाटो अबरुद्ध हुने जस्ता कारणले गर्दा पर्यटकहरुलाई असहजता सृजना हुन सक्ने भन्दै सफारी बन्द गरिएको हो ।

समग्र वन्यजन्तु संरक्षण, वासस्थानको पुनरुत्थान र पर्यटकहरुको सुरक्षालाई मध्यनजर गर्दै सफरी बन्द गरिएको निकुञ्जका सूचना अधिकारी अविनाश थापा मगरले जानकारी दिए । जंगली जनावर अवलोकनका लागि विदेशी पर्यटकका लागि जंगल सफारी प्रमुख रोजाईमा पर्ने गरेको छ ।