गाडीको ठक्करबाट नवलपुरमा एकको मृत्यु, ठक्कर दिने गाडी फरार

नवलपुर, असार १८ गते । नवलपुरको कावासोतीमा नम्बर नखुलेको सवारी साधनको ठक्करबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा हुप्सेकोट गाउँपालिका वडा नं. ५ बस्ने २३ वर्षीय तिल बहादुर राना मगर रहेकाो जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी, प्रहरी नायव उपरीक्षक अनिल पण्डितले जानकारी दिनुभयो ।

उहाँका अनुसार गएराति कावासोती नगरपालिका वडा नं. ८ स्थित खरकट्टा जंगल सडक खण्डमा राना मगरलाई सवारी साधनले ठक्कर दिएको थियो । सडकमा गम्भीर घाइते अवस्थामा भेटिनु भएका राना मगरलाई ट्राफिक प्रहरीको टोलीले तत्काल उद्धार गरी मध्यबिन्दु प्रादेशिक अस्पताल डण्डा पठाएको थियो ।

टाउको र निधारमा गम्भीर चोट लागेका उहाँलाई त्यहाँ प्राथमिक उपचार पश्चात थप उपचारका लागि चितवनको पुरानो मेडिकल कलेज भरतपुर रिफर गरिएको थियो ।

​उहाँको उपचारकै क्रममा बिहान मृत्यु भएको पण्डितले जानकारी दिनुभयो । मृतकको शव हाल भरतपुर अस्पतालमै राखिएको छ ।
​ठक्कर दिएर फरार भएको सवारी साधनको पहिचान हुन नसकेकाले खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।