बोमलाल गिरी
नवलपुर, असार १९ गते । नवलपुरको हुप्सेकोट गाउँपालिका वडा नं. ६ घाँगी भिरबाट तीन महिनादेखि लगातार बारुदको जस्तो गन्ध आउने धुँवा निस्किन थालेपछि स्थानीय त्रसित भएका छन् । लगातार धुँवा निस्किरहेपछि बिहीबार स्थानीयले जिल्ला प्रहरी कार्यालयलाई जानकारी गराएका थिए ।
कार्यालयबाट गएको प्रहरी टोलीले पनि दुई÷तीन महिनादेखि धुँवा निस्किरहेको र त्यसको गन्ध बारुदको जस्तो भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक युवराज खड्काले जानकारी दिए ।
‘‘हामीले निरिक्षण गर्र्यौ, जमिन भित्रबाट बारुदको जस्तो पीरो गन्ध आउने धुँवा लगातार आइरहेको छ,’’ प्रहरी उपरीक्षक खड्काले भने, ‘‘त्यसको कारण के हो भन्ने हामीलाई पनि थाहा भएन, यो हाम्रो क्षेत्राधिकारभन्दा बाहिरको कुरा हो ।’’
६ नं. वडाका अध्यक्ष छम बहादुर सोमै मगरले १५ वर्षअघि पनि यस्तै समस्या देखिएको र एक डेढ वर्षपछि आफै समाधान भए पनि अहिले फेरी उस्तै समस्या देखिएको बताए । यसले स्थानीयमा त्रास सृजना गरेको भन्दै यस विषयमा जिल्ला प्रहरी कार्यालय र गाउँपालिकामा जानकारी गराएको उनको भनाई छ । जंगलको बीचमा सानो पहिरो झरेको भए पनि ठूलो पहिरो नगएको मगरले बताए ।
पहिरो गएको स्थानबाट करिव एक किलोमिटर उत्तरतर्फ पेलेमा ३५ घरधुरी रहेको मानव बस्ती छ । यसरी पिरो गन्ध आउने काम नरोकिएपछि जमिनमुनी ग्यास रहेकोले विष्फोट हुने हो कि भन्ने चिन्ता बढेको हुप्सेकोट गाउँपालिकाका अध्यक्ष लक्ष्मी पाण्डेले बताईन् ।
‘‘यहाँको यो समस्याका बारेमा हामीलाई पनि पटक–पटक जानकारी गराइएको थियो तर जाडोमा कुहिरो र हिउँदमा डढेलो लागेको हुन सक्ने भन्दै चुप लागेर बस्यौं, पछिल्लो पटकको अनुगमनले त्यो होइन रहेछ भन्ने पुष्टि भयो,’’ अध्यक्ष पाण्डेले भनिन् ।
पाण्डेका अनुसार घाँस काट्न गएका स्थानीयले जमिन आगो लागे जस्तै निक्कै तातो भएको र पानी परेपछि झन बढी धुँवा निस्किएको र तातो भएको बताएका छन् ।
खानी तथा भूगर्भ विभागले पनि यस विषयमा अध्ययन गरेर मात्र भन्न सकिने बताएको छ । विभागका उपमहानिर्देशक डा. गणेशनाथ तिवारीले स्थानीय तहबाट विस्तृत अध्ययनका लागि अनुरोध गरिएमा आफूहरु अध्ययनका लागि आउन तयार भएको बताए । लामो समयदेखि एउटै प्रकृतिको घटना भएकाले खानीसँग सम्बन्धित विषय हुन सक्ने डा तिवारीको भनाइ छ ।
हुप्सेकोट गाउँपालिकाका अध्यक्ष पाण्डेले पनि आफूहरुले जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालयमा जानकारी गराइसकेको र अव छिटै कार्यपालिका बैठक राखेर अध्ययन गर्न आउनका लागि खानी तथा भूगर्भ विभागलाई अनुरोध गर्ने बताईन् । ।









