दाउन्ने खण्डको सडक ३० वर्ष टिक्ने गरी ढलान गरिएको दाबी

Screenshot

पूर्व–पश्चिम राजमार्ग अन्तर्गत निकै चुनौतीपूर्ण मानिने दाउन्ने खण्डको सडक निर्माण कार्य अब अन्तिम चरणमा पुगेको छ।

विगत लामो समयदेखि यातायात सञ्चालनमा सास्ती खेप्दै आएका यात्रु र चालकहरूका लागि यो खुसीको खबर हो।

हाल दाउन्ने मन्दिर मुनिको पहिरो प्रभावित क्षेत्रमा करिब ५० मिटर एकतर्फी ढलान गर्न मात्र बाँकी रहेको छ भने सडकको एकातर्फको भाग पूर्ण रूपमा सम्पन्न भई सवारी आवागमन समेत सुचारु भइसकेको छ।

भौगोलिक अवस्था र अत्यधिक सवारी चापलाई मध्यनजर गर्दै यसपटक आयोजनाले परम्परागत कालोपत्रेको सट्टा गुणस्तरीय कङ्क्रिट ढलान (रिजिड पेभमेन्ट) को विकल्प रोजेको हो।

कालोपत्रे गर्दा सडक छिटो बिग्रने र सर्वसाधारणले निरन्तर सास्ती खेप्नुपर्ने अवस्थालाई दृष्टिगत गर्दै यो दीर्घकालीन उपाय अपनाइएको सडक विभाग आयोजना निर्देशनालय (एडीबी) ले जनाएको छ।

आयोजना निर्देशक चुडाराज ढकालका अनुसार यस खण्डमा गरिएको ढलानको न्यूनतम आयु ३० वर्ष हुने दाबी गरिएको छ।

“हामीले आगामी तीन दशकको ट्राफिक फोरकास्ट (सवारी चापको पूर्वानुमान) लाई हेरेर नै यो संरचना तयार गरेका हौँ,” ढकालले भने, “दैनिक १२ देखि २० हजारसम्म सवारी साधन आवतजावत गरे पनि यो सडकलाई केही असर पर्दैन।”

सडकको भारवहन क्षमता एकल चक्कामा १० टन रहेको र डिजाइन अनुसारका अन्य मापदण्डहरू पालना भई भार नियन्त्रण हुन सकेमा यो सडक ४० वर्षसम्मै टिक्ने उनको भनाइ छ।

यस गुणस्तरीय निर्माणसँगै दाउन्ने खण्डमा बर्सेनी हुने सडक अवरोध, खाल्डाखुल्डी र मर्मतको झन्झटिलो समस्याको दीर्घकालीन समाधान हुने विश्वास सरकारले लिएको छ।

ढलान कार्य पूर्ण रूपमा सकिएपछि यस क्षेत्रमा नागरिकले भोग्दै आएको सास्तीको सदाका लागि अन्त्य हुने आयोजनाको दाबी छ।