नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष बिपुल पोख्रेलले संसद्मा छुद्र वचन, धम्कीको भाषा र दम्भ प्रदर्शन गरेर सरकारको आत्मरक्षा हुन्छ भन्ने भ्रम त्याग्न सरकारलाई सुझाव दिएका छन् । यस्तो भ्रम जति चाँडो त्याग्यो, सरकारलाई त्यति नै सहज हुने उनको भनाई छ।
पछिल्लो विकसित राजनीतिक घटनाक्रम र बदलिँदो सामाजिक परिवेशका बीच सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उनले सरकारको कार्यशैली, प्रतिपक्षी दलहरूको भूमिका र नागरिकमा बढ्दै गएको निराशाप्रति राज्यको गम्भीर ध्यानाकर्षण गराएका हुन्।
पोख्रेलले सरकारलाई सस्तो लोकप्रियता अर्थात् ‘स्टण्ट’ को पछि नलागी राज्यका संरचनाहरूलाई व्यवस्थित, सुदृढ र आवश्यक परे परिमार्जन गरेर थिति बसाल्ने बाटोमा हिँड्न आग्रह गरेका छन् । केवल स्टण्ट देखाएर मात्रै प्रणाली नबस्ने र शक्ति सन्तुलनको सिद्धान्तअनुरूप नागरिकका अपेक्षा एवं समस्याहरू सम्बोधन हुन नसक्ने उनको ठम्याइ छ।
नागरिकका आकांक्षा पूरा गर्न सरकार ठोस र संस्थागत बाटोमा हिँड्नुपर्नेमा जोड दिँदै उनले पछिल्लो समय समाजमा बढ्दै गएका आत्मदाह र आत्महत्या जस्ता दुखद घटनाहरू व्यक्तिका नितान्त वैयक्तिक निर्णय भए तापनि राज्य यसबाट पन्छिन नमिल्ने उल्लेख गरे ।
सरकार र राज्यका अन्य कुनै पनि निकायले यसलाई व्यक्तिको निजी मामिला मात्र भनेर छुट नपाउने स्पष्ट पार्दै उहाँले एक स्वस्थ, सभ्य र कुनै पनि हालतमा गलत निर्णय नगर्ने नागरिक निर्माण गर्नु राज्यको अनिवार्य दायित्व भएको र राज्य हर निमेष जवाफदेही हुनुपर्ने बताएका छन् ।









