राम्चे पहिरोले हुप्सेकोटका ४२ घर परिवार उच्च जोखिममा, कावासोती पनि छैन सुरक्षित (भिडियो रिपोर्ट)

बोमलाल गिरी
नवलपुर, साउन ७ गते । केरुङ्गे खोलाको सिरानमा रहेको नवलपुरको हुप्सेकोट गाउँपालिकाको राम्चे पहिरोका कारण यहाँका ४२ घर परिवार उच्च जोखिममा रहेको जिल्ला विपद् व्यवस्थापन समितिले निष्कर्ष निकालेको छ । समितिले बुधबार स्थलगत अनुगमन गरी यहाँ बसोवास गरिरहेका सबै ४२ घर उच्च जोखिममा रहेको निष्कर्ष निकाल्दै तत्कालिन र दिर्घकालिन योजना बनाई स्थानान्तरण गर्नु पर्ने बताएको हो ।

अनुगमनपछि प्रमुख जिल्ला अधिकार दगदिश्वर उपाध्यायले तत्कालका लागि जीवन रक्षा र दिर्घकालिन रुपमा पहिरो रोकथाम र स्थानान्तरण गर्न आवश्यक रहेको भन्दै तीनै तहका सरकारसँग समन्वय र सहकार्य गरिने बताए । उनले हरेक वर्ष पहिरो बढ्दै गएकाले एकीकृत नमुना बस्ती बनाएर स्थानान्तरण नगर्ने हो भने ज्यानको सुरक्षा नहुने बताए ।

२०३८ साल असारदेखि हिउँद वर्खा सधैभरी निरन्तर पहिरो जान थालेपछि डाँडो नै खस्ने हो कि भन्ने चिन्ताले यहाँका स्थानीयले सधै त्रासै त्रासमा बाँच्नु परेको गुनासो गरेका छन् । ‘‘हिउँद वर्खा सधै झरिरहने पहिरो, अहिले निरन्तर पानी परिरहेपछि त झनै बस्ती नजिकै आइसकेको छ, जोखिम झन धेरै बढेको छ,’’ स्थानीय लिल बहादुर पुलामीले भने, ‘‘आकाशमा कालो बादल देख्ने बित्तिकै बस्ती नै पहिरोमा बग्ने हो कि भनेर झन डर लाग्छ, राति सुत्न पनि सकिन्न ।’’

अर्का स्थानीय आश बहादुर चितौरे मगरले पुस्तौदेखि बसोवास गरिरहेको जन्म ठाउँ छोडेर अन्यत्र जान सुरुमा कसैले नमाने पनि अव भने दिनदिनै जोखिम बढ्दै गएकाले स्थायी व्यवस्थापन भएमा यो ठाउँ छोड्न यहाँका सबै वासिन्दा तयार रहेको बताए । त्यसका लागि अल्पकालिन नभई दिर्घकालिन व्यवस्थापन गर्नु पर्ने उनको भनाइ छ ।

मंगलबार राति जमिन चिराचिरा भएर भासिएपछि त्यो त्रासमा झन बल पुगेको छ । स्थानीय प्रहरी र प्रशासनले मंगलबार राति राम्चे पुगेर तत्काल सुरक्षित स्थानमा जान आग्रह गरेपनि अल्पकालिन रुपमा बस्ती छोडेर जान नसकिने जवाफ दिएका थिए ।

रुद्रपुरका प्रहरी सहायक निरीक्षक विरेन्द्रराज खनालले उच्च जोखिममा रहेका परिवारलाई सम्झाई बुझाई गर्दा पनि राज्यले स्थायी व्यवस्था नगरेसम्म आफूहरु स्थानान्तरण हुन नसक्ने जवाफ दिएको बताए । ‘‘पुस्तौदेखि बसोवास गरिरहेको ठाउँ, आफ्नो खेतबारी र चौपाया छोडेर कतै जान सकिन्न,’’ स्थानीयको भनाइ उदृत गर्दै प्रसनि खनालले भने, ‘‘राज्यले उचित बैकल्पिक व्यवस्था गर्नुपर्छ ।’’

उच्च जोखिममा हुँदा पनि वस्ती अन्यत्र सर्न नमानेपछि जिल्ला सुरक्षा समितिले बुधबार स्थलगत अवलोकन गरेको हो । स्थलगत अवलोकनपछि प्रमुख जिल्ला अधिकारी उपाध्यायले दिनप्रतिदिन जोखिम बढ्दै गएको बताए ।

पहिरोको त्रासले सक्ने जतिले यसअघि नै गाउँ छाडेर अन्यत्र बसाइँ सरिसकेका छन् । १८ परिवारलाई हुप्सेकोट गाउँपालिकाले एकीकृत बस्ती बनाएर जुगेपानीमा स्थानान्तरण गरिसकेको छ । तर आयस्तर कम भएका धेरैले आफ्नो जीवन जोखिममा राख्दै यही पहिरो हेर्दै दैनिकी कटाइरहेका हुप्सेकोट–५ का वडाध्यक्ष पदम बहादुर राना मगरले बताए ।

वडाध्यक्ष मगरले स्थानीयलाई वडा कार्यालय र विद्यालयमा अस्थायी रुपमा स्थानान्तरण गर्न सकिने बताए । तर स्थानीय रुपकला प्राथमिक विद्यालयको प्राङ्गढ र कक्षा कोठा पनि चर्केकोले त्यो सुरक्षित नहुने बाजेको पालादेखि बसोवास गरिरहेका ६८ वर्षीय डिल बहादुर सिंजाली मगरले बताउनुभयो । ‘‘अव हामीलाई स्थायी रुपमा राज्यले कहाँ लगेर राख्ने हो, उसैले सोच्नु पर्छ,’’ उनले भने ।

२०७८ सालमा गरिएको भौगर्भिक अध्ययनले केरुङ्गे खोलाको शिर राम्चे बस्तीलाई उच्च जोखिम क्षेत्र किटान गर्दै बसोवास नगर्न सुझाव दिएको थियो । तर बस्ती अहिलेसम्म पनि स्थानान्तरण हुन सकेको छैन ।

हुप्सेकोट गाउँपालिका अध्यक्ष लक्ष्मी पाण्डेले राम्चे पहिरो नियन्त्रण आफूहरुको क्षमताभन्दा बाहिरको विषय भएको बताए । ‘‘राम्चे हामीले वषैदेखि उठाइरहेको विषय हो, यसको नियन्त्रण हाम्रो प्रयासले सम्भव छैन,’’ अध्यक्ष पाण्डेले भनिन्, ‘‘पहिरो नियन्त्रणका लागि संघीय सरकारले कृष्ण भिरको जस्तै प्रविधि अपनाएर लगानी गर्नुपर्छ ।’’

सदरमुकाम कावासोती पनि जोखिममा
राम्चे पहिरोका कारण जिल्ला सदरमुकाम कावासोतीमा पनि सुरक्षित नरहेको बताइएको छ । ‘‘पहिरो नियन्त्रणका लागि कुनै प्रयास भएको छैन, यो पहिरोले हुप्सेकोट मात्र होइन, कावासोती पनि सुरक्षित छैन,’’ हुप्सेकोट–५ मा अध्यक्ष पदम बहादुर राना मगरले भने, ‘‘त्यसैले सबै मिलेर संघीय सरकारलाई दबाब दिनुपर्छ ।’’

हुप्सेकोट गाउँपालिकाका अध्यक्ष पाण्डेले पनि यो पहिरोले हुप्सेकोटसँगै जिल्ला सदरमुकाम कावासोती पनि जोखिममा रहेको बताइन् । ‘‘राम्चे पहिरोका कारण केरुङ्गे खोलाको उग्र रुप हामीले पटक पटक देखिसकेका छौं, जिल्ला प्रहरी कार्यालयसम्म खोलाको बहाब पुगेको थियो, यो कावासोतीवासीलाई थाहा भएकै कुरा हो,’’ अध्य्रक्ष पाण्डेले भनिन्, ‘‘त्यसैले कावासोती जोगाउने हो भने राम्चे पहिरोको व्यवस्थापन गर्नु पर्छ, अन्यथा यसले नवलपुरलाई समेत क्षती पुर्याउँछ ।’’

राम्चेसँगै माथिल्लो भागमा रहेका रुद्रपुर, बाघखोर र पिपलडाँडा पनि जोखिममा रहेको भौगर्भिक अध्ययनले देखाएको भन्दै पाण्डेले संघीय सरकारलाई पटक पटक निवेदन दिएर दबाब सृजना गरेको बताइन् । पहिरोले कावासोतीको वडा नम्बर २, ३, ४, ५, ७, ८ र ९ मा मुख्य जोखिम रहेको बताइएको छ ।