मह र तोरीको प्रवर्धन गर्न पुष २५ गतेदेखि चितवन महोत्सव हुने

चितवन । चितवन महोत्सव–२०७९ यही पुस २५ गतेदेखि आगामी माघ ४ गतेसम्म चितवनको प्रदर्शनी मैदान नारायणी किनारमा आयोजना गरिने भएको छ ।

चितवन महोत्वस मूल आयोजक समिति उद्योग वाणिज्य सङ्घले आज काठमाडौँमा पत्रकार सम्मेलन गरी चितवन महोत्सवको तयारीबारे जानकारी गराउँदै कार्यक्रममा सहभागी हुन उपत्यकावासीमा अनुरोध गरेको छ ।

विसं २०५३ देखि हरेक दुई वर्षमा हुँदै आएको महोत्सव यसपाली चौधौँ संस्करणका रुपमा आयोजना गर्न लागिएको हो । सङ्घका अध्यक्ष एवं महोत्सव मूल आयोजक समितिका संयोजक चुननारायण श्रेष्ठले यसपटक महोत्सवमा मह र तोरीलाई विशेष प्रवद्र्धन गर्न लागिएको जानकारी दिए ।

चितवन महोत्सवको हरेक कार्यक्रममा स्थानीय कुनै विशेष उत्पादनलाई केन्द्रित गरेर प्रवद्र्धन गर्दै आइएको छ । यसपाली महोत्सवस्थलमा मौरीको प्रतिमासहित तोरी परिसरसमेत रहने र त्यस विषयमा विविध जानकारी दिइने जनाइएको छ । यसअघिका महोत्सवमा दूध, केरा, माछा, कुखुरापालन लगायतलाई विशेष प्रवर्धन गरिएको थियो ।

विसं २०७८ मा आयोजना गरिएको चितवन महोत्सव भने कोभिड–१९ सङ्क्रमणका कारण प्रभावित भएको थियो । उक्त समयमा तीन दिन महोत्सव आयोजना गरेपछि स्थगित गर्नुपर्दा ठूलो नोक्सानी बेहोर्नुपरेको आयोजकले जनाएको छ ।

महोत्सवमा जिल्लाको सामाजिक, आर्थिक तथा सांस्कृतिक एवं पर्यटन प्रवद्र्धन गर्ने उद्देश्य रहेको छ । भौगोलिक दृष्टिकोणले केन्द्रविन्दुमा रहेको चितवन स्वास्थ्य, शिक्षा, कृषि, पर्यटनको केन्द्रका रुपमा समेत परिचित छ । चितवनको कुखुरापालनले नेपालको मागको ६५ प्रतिशत आपूर्ति गर्ने गर्छ ।